मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा  नीतिगत छलफल भएको छ। सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका हुन्’, प्रवक्ता श्रेष्ठले भने।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भए पनि व्यक्तिका नामका विषयमा छलफल नभएको उनले बताए। ‘कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन,’ उनले भने।

२०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए । 

भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: : 2020-09-20 15:19:14

प्रतिकृया दिनुहोस्