हरिकृष्ण रावलले परिवारको आर्थिक अवस्थाका कारण सानैमा पढाई छाड्नु पर्यो। छोरा बिग्रन्छ कि भन्ने उनका बाबुको चिन्ता थियो। त्यसैले हरिकृष्ण ११ वर्षको हुँदा उनलाई बुबाले काठमाडौं ल्याए। बुबा कार्पेन्टरको काम गर्थे। उनले छोरालाई त्यत्तिकै राखेनन्, काम सिकाउन थाले।
विस्तारै बुबाको भरपर्नु पर्ने अवस्था हट्दै गयो। ‘यो करिब ४० वर्ष अघिको कुरा हो’ उनले भने, ‘त्यस बखत खुकुरी रमका लागि दराज तथा ट्रेहरु बनाउने चलन थियो। मैले काम गर्दै जाँदा कार्पेन्टरको सम्पूर्ण काम सिके।’ पाँच वर्ष काम गरेपछि उनी पक्का कार्पेन्टर बनिसकेका थिए। आम्दानी पनि राम्रै हुँदै थियो। उनले काभ्रेस्थलीमा घर बनाए। उनमा नयाँ सोच आयो- कुखुरा पाल्ने। त्यो बेला गाउँमा कुखुरा पाल्ने चलन थिएन। २०३२ असारमा कृषि विकास बैंकबाट १५ हजार रुपैयाँ ऋण लिएर कुखुरा पालन व्याावसायिक रुपमा सुरु गरे। उनले ४ सय लियर र ३ सय बोइलर कुखुरा हालेर फार्म सुरु गरे। उनी आफ्नो गाउँमा कुखुरा पालन गर्ने पहिलो किसान थिए।