रमेशकेशरी वैद्य
कुनै समय नेपालका प्रायः सरकारी संस्थानहरुको अवस्था निकै खराब थियो । जसले गर्दा मानिस बिरामी भएर पनि चलिरहेसरह संस्थानहरु चलिरहन्थे । यस्ता सरकारी संस्थानहरुको नाम अंकित गर्नुपर्दा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायु सेवा आदिलाई लिन सकिन्छ ।
कतिपय कलकारखाना तथा संस्थानहरु घिटी–घिटी भएर चले भने कतिपय सखाप नै भएर गए । मानिसको मृत्युसरह त्यति बेला समाज हेरेको हे¥यै भयो । कसैले केही गर्न सकेनन् । बाँसबारी छाला जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, चोभारलगायतको सिमेन्ट कारखाना, हरिसिद्धि इँटा टायल कारखाना, जुट मिल कारखाना आदि त्यति बेलाका उदाहरण हुन् ।
मुलुक आन्तरिक द्वन्द्वमा फसेकोले देश चलाउनेहरुलाई आर्थिक संकट थियो । पार्टी चलाउन गाह्रो थियो । यसकारणले गर्दा कलकारखाना तथा संस्थानहरुमा भ्रष्टाचार बढ्दै गयो । आफ्ना व्यक्तिहरुको भर्ती अनावश्यकरुपमा बढ्दै गयो । नचाहिने कुराहरुमा राजनीतिक हस्तक्षेप बढ्दै गयो । यसले गर्दा प्रायः सरकारी संस्थाहरु रोगी हुँदै गए । यसलाई जनताले बिर्सन सकेका छैनन् ।