पीसीआर परीक्षण शुल्क २ हजार : निजी प्रयोगशाला भन्छन्, “तत्काल कार्यान्वयन गर्न सकिँदैन”

सरकारले पीसीआर परीक्षण शुल्क आधा घटाएर दुई हजार रूपैयाँ पुर्‍याएको छ। आजदेखि लागू हुने गरी सरकारी र निजी प्रयोगशालाले दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउनुपर्छ। तर, केही निजी प्रयोगशालाले भने तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएका छन्।
 
धुम्बराहीमा रहेको ह्याम्स अस्पतालले आज पनि पीसीआर परीक्षण गराउँदा चार हजार ४०० रूपैयाँ शुल्क लिएको छ। ह्याम्सले आफ्नो वेबसाइटमा अझै पनि चार हजार ४०० रूपैयाँमा पीसीआर परीक्षण गराउने भन्ने सूचना राखेको छ। जबकि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै दुई हजार भन्दा कम शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको थियो।

सोही आधारमा केहीले आइतबर नै शुल्क घटाइसकेका थिए भने केहीले आज घटाए। तर, काठमाडौंमा नाम चलेका केही अस्पतालले भने अझै पनि महँगोमा पीसीआर परीक्षण गराउँदैं आएका छन्। ह्याम्स अस्पतालले तत्काल दुई हजार रूपैयाँमा पीसीआर परीक्षण गराउन नसकिने जनाएको छ।
 
ललितपुरस्थित भैसीपाटीमा रहेको मेडिसिटी अस्पतालले पनि चार हजार ४०० मा रूपैयाँमा पीसीआर परीक्षण गराउँदै आएको छ। आज बिहानदेखि नै २० भन्दा बढी पीसीआर परीक्षण गराइसकेको मेडिसिटीले शुल्क घटाउनेबारे कुनै निर्णय गरेको छैन। मेडिसिटीको प्रयोगशालामा कार्यरत कर्मचारीहरूले व्यवस्थापन पक्षबाट कुनै निर्णय नआएकाले पुरानै मूल्यमा परीक्षण गराउँदैं आएको जनाएका छन्।

प्रकाशित मिति: : 2020-09-14 23:50:57

प्रतिकृया दिनुहोस्