कुलमानको कार्यकाल सकियो

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज (आइतबार) देखि सकिएको छ।

२०७३ भदौ २९ मा प्राधिकरण कार्यकारी निर्देशक बनेका घिसिङलाई फेरि दोहोर्‌याउने वा नेतृत्व फेर्ने विषयमा सरकारले टुंगो लगाउन सकेको छैन।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको निजी सचिवालयले घिसिङलाई नै पुनः चार वर्ष दोहोर्‌याउने गरी मन्त्रालयबाट प्रस्ताव तयार भएको धारणा सार्वजनिक गरे पनि यसबारे मन्त्रिपरिषदले टुंगो लगाउन सकेको छैन।

गत बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो। मन्त्रिपरिषदको नियमित बैठक भोलि सोमबार बस्न सक्नेछ।

तर, प्राधिकरणको आगामी नेतृत्वबारे तत्काल निर्णय हुन्छ वा केही समय रिक्त रहन्छ भन्ने अझै खुल्न सकेको छैन।

सत्तारुढ दल नेकपा स्थायी कमिटीको गत शुक्रबारको बैठकले मन्त्रिपरिषद पुनर्गठनसँगै संवैधानिक र राजनीतिक नियुक्ति प्याकेजमै टुंग्याउने विषयमा मोटामोटी समझदारी गरेकाले प्राधिकरणको नेतृत्व केही समय खाली रहनसक्ने आँकलन गरिन थालिएको छ।

तर, घिसिङलाई दोहोर्‌याउन विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समझदारी बनिसकेको बताउनेहरू पनि छन्।

प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन घिसिङलाई दोहोर्‌याउन विषयमा सकारात्मक नरहे पनि प्रचण्डको विशेष जोडबल थियो। तर, पछिल्लोपटक तिनै नेताहरू घिसिङलाई दोहोर्‌याउन तयार रहेको नेकपाका नेताहरूले बताउने गरेका थिए।

आगामी नेतृत्वको प्रतिस्पर्धामा घिसिङसँगै विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य छन्।

घिसिङ प्राधिकरणको नेतृत्वमा आउनुअघि मुलुकमा दैनिक १४ घन्टासम्म ‘लोडसेडिङ’ थियो। तर, उनी नेतृत्वमा आएपछि लोडसेडिङ अन्त्य हुनुका साथै प्राधिकरणसमेत नाफामा गएको थियो।

प्रकाशित मिति: : 2020-09-13 18:11:52

प्रतिकृया दिनुहोस्