भक्तपुर ब्यासीका विशाल सुवाल दुई दशकदेखि स्थानीय पथप्रदर्शक (लोकल गाइड) का रुपमा कार्यरत छन्। संसारभरका पर्यटकलाई बाटो देखाउँदै आएका सुवाल ५ महिनादेखि भने आफैं गन्तव्यहीन भएका छन्। ‘हाम्रो गुजारा र आम्दानीको स्रोत भनेकै पर्यटक हुन्’, उनले भने, ‘कोरोनाका कारण पर्यटक नआउँदा आम्दानी ठ्याक्कै सुकेको छ।’
बेरोजगार भएको महिनौं बित्दा पनि सरोकारवालाले चासो नदेखाएका कारण उनी थप दुःखी छन्। ‘कतिपय साथीको त बिहान बेलुकाको छाक टार्न समेत समस्या परेको छ,’ उनले भने, ‘सरोकारवालाले उनीहरुको समस्या समाधानका लागि तत्काल पहल गर्न जरुरी छ।’
भक्तपुर क्षेत्रमा ८५ जनाले पथप्रदर्शकको तालिम लिएका छन्। तीमध्ये आधाभन्दा बढीको मुख्य पेसा नै पर्यटकलाई पथ प्रदर्शन गर्नु हो। ‘बाहिरबाट आएर डेरा गरेर बस्ने पनि छन्,’ सुवालले थपे, ‘उनीहरुले पीडा सुनाउने ठाउँसमेत भेटेका छैनन्।’
खोटाङ बतासेका राजेन्द्र राईको अवस्था पनि उस्तै छ। गाइडको काम गर्न थालेको १६ वर्ष भयो। यसबीचमा उनले हजारौं पर्यटकलाई बाटो देखाए। ५ महिनादेखि भने उनी पनि विशालजस्तै गन्तव्यहीन भएका छन्।