कोरोना भाइरसका कारण रोजगारी गुमाएर समयमै स्वदेश फर्किन नपाएका कामदारहरू सरकारविरुद्ध विभिन्न देशमा प्रदर्शन गर्न थालेका छन् ।
कोरोनाका कारण रोजगारी गुमाएर पाँच महिनादेखि रोजगारदाता देशमै अलपत्र अवस्थामा बसेका उनीहरूले समयमै स्वदेश फर्काउन माग गर्दै नेपाली दूतावासहरूमा प्रदर्शनसँगै धर्ना दिइरहेका छन् ।
घर फर्किन प्रतीक्षारत उनीहरू प्रदर्शनमा उत्रन बाध्य भएको बताउँछन् । यसरी प्रदर्शनमा उत्रिएका कामदारले रोजगारदाता देशको कानुन र परिस्थितिको बेवास्ता गर्दै सडक आन्दोलनसमेत गर्न थालेका छन् ।
महामारी फैलिएसँगै उद्धार उडान नै स्थगित हुने, महँगो भाडा तिरे पनि समयमा उडान नहुने, सरकारले विभिन्न बहाना बनाएर उडान तालिका परिवर्तन गर्नाले श्रमिकहरूलाई झन् समस्या थपिएको हो ।