मोरङ केराबारी गाउँपालिकास्थित रान्चाका ४३ वर्षीय भूपेन्द्र भट्टराईको दिनचर्या कुखुरा, कालिज र खसीको खोरमा बित्छ । बिहान ७ बजेदेखि नै भट्टराई ‘हरि एग्रीकल्चर एण्ड लाइभस्टक सेन्टर’ मा ब्यस्त हुन्छन् । उनले फार्ममा कालिज, लोकल कुखुरा, कडकनाथ (कालो कुखुरा) र खसी पालेका छन् ।
भट्टराई कालिज र कडकनाथ कुखुराका चल्ला उत्पादन गरेर बिक्री गर्छन् । फार्मको रेखदेखमै प्रायः दिन बित्ने गरेको भट्टराईले बताए । उनी भन्छन्, ‘देशभित्रै कृषिमा केही गरुँ भनेर यो पेसामा लागेको हुँ । फार्ममा कालिज, कालो कुखुरा, खसी र सामान्य खेती छ ।’
हाल उनले १ हजार कालिज, ७ सय लोकल कुखुरा, २ सय कडकनाथ (कालो कुखुरा) र २० वटा खसी पालेका छन् । फार्मभित्र रहेका तिनै कुखुरा र खसी स्याहार्दै उनकाे दिन बित्छ ।
पहिलादेखि नै कृषि पेसा गर्ने सोच राखेका कारण वैदेशिक रोजगारीतिर आफ्नाे ध्यान नगएको भूपेन्द्र बताँउछन् । उनी भन्छन्, 'कृषि गर्न सोचे र देखेजस्तो सजिलो छैन । धेरै खटिनुपर्छ । कालिज दसैँमा बेच्ने गरी हुर्काउँदै छु ।'