सरकारले सुनेन निमुखाको गुहार

रुद्र खड्का

रामेछापका सूर्य माझीले साउदी अरेबियाको रियादमा रोजगारी गुमाएको दुई महिना पुगेको छ। कोरोना महामारीपछि काम गरिरहेको वेल्डिङ कम्पनीले उत्पादन रोकेपछि उनी बेरोजगार भएका हुन्। बजारमा माग नभएको कारण देखाउँदै कम्पनीले काम बन्द गर्दा यतिखेर माझीलाई बस्न र खानाको समस्या हुन थालेको छ। उनलाई कम्पनीले बस्दै आएको कोठा छिटो छाड्न भनिरहेको छ।

‘कम्पनीले काम रोकेलगत्तै घर फर्कन खोजिरहेको छु,’ उनले नागरिकसँग भने, ‘दुई महिनादेखि घर फर्कन हवाई टिकटको खोजीमा राजदूतावासदेखि ट्राभल एजेन्सीसम्म चहारिसकें तर उपलब्धि शून्यजत्तिकै छ।’ लामो समयदेखि घर फर्कन नपाउँदा एकातिर बेखर्ची भइरहेको र अर्कोतर्फ बस्दै आएको कोठाबाट जुनसुकै बेला निकालिने जोखिम बढेको उनको भनाइ छ। अहिलेसम्म पुरानो कमाइबाट जसोतसो गुजारा चलेको बताउने माझीले अब भने टिक्ने अवस्था नरहेको गुनासो गरे।

साउदीकै रियादमा रहेका रौटहटका रिहान मन्सुरले पनि हवाई टिकट खोजी गर्न थालेको एक महिनाभन्दा बढी भइसकेको छ। उनले साथीभाइ र चिनेजानेकासँग सोधीखोजी गर्दा पनि टिकट फेला पार्न नसकेको बताए। कोरोना महामारीका कारण अघिल्लो महिनादेखि रोजगारी गुमेको उनको भनाइ छ। ‘मासिक एक हजार दुई सय रियाल (करिब ४० हजार रुपैयाँ) पारिश्रमिक पाउने रोजगारी गुमेपछि कतिखेर घर फर्कौं भइरहेको छ,’ उनले भने, ‘तर टिकट पाउन सकिएको छैन।’ मन्सुरले टिकट नपाउँदा कमाएको रकम साउदीमै सकिने गुनासो गरे।

प्रकाशित मिति: : 2020-09-10 08:09:48

प्रतिकृया दिनुहोस्