उनको हातमा नाम्लो र ढाडमा पिठोको बोरा टाँसिएको छ। यो बोरामा पिठो छैन। भारी बोक्दा ढाड नदुखोस् भनेर राखिएको 'कवच' हो। यो कवचवाहक हुन् सन्तबहादुर परियार।
दिउँसो करिब ३ बजे खुलामञ्चको पारिलो घाममा बसेका छन् उनी। त्यो घामको न्यानो सन्तबहादुरको आँतसम्म पुगेको छैन। आफ्ना पट्पटी फुटेका हातले पिठो नपुगेको पेट छाम्दै कसैलाई कुरिरहेका छन्।
'जिन्दगीभर आफ्नै पाखुरा बजारेर बाँचियो। हिजोआज हात मुख जोड्न अरूको आश गर्नु परेको छ,' उनी आफ्ना हातले खुट्टामा लागेको चोट सुम्सुम्याउँदै भन्छन्।
खुलामञ्चमा आजभोलि साँझ केही सहयोगी हातहरूले खाना खुवाइरहेका छन्। मजदुर र असहायहरू बेलुकी कति खेर खाना आउला र भोको पेट सेकाउँला भनेर बिहानैदेखि पर्खेर बस्छन्।