नारायण खड्का
केही दिनअघि उनीहरूले सामाजिक सञ्जालमा पाकेको मेवाको तस्बिर पोष्ट गरे। त्यसपछि उनीहरूको फोनको रिङटोन बजिरहेको छ, उता बगैंचामा मान्छेको लर्को नै लागेको छ।
यो त्यही ठाउँ हो जहाँ एक वर्षअघिसम्म गाउँलेहरूले गाईवस्तु चराउँथे। दाङस्थित सिद्धरत्ननाथ मावि, नारायणपुरको उक्त जग्गामा कहिले त बालबालिका डन्डीबियो र लुकामारी खेल्थे।
कहिल्यै खेती नभएको बञ्जर डाँडोमा केही नयाँ गर्ने सपना लिएर उक्लेका थिए, अधिवक्ता कुलबहादुर डाँगी र शिक्षक तुलसीराम केसी।
भलै उनीहरूका सपनामा कसैको विश्वास थिएन।
स्थानीयले 'केको रोइलो गरेको होला' भनेर कुरा पनि काट्थे। कति साथीहरूले त अनुदान खान नाटक मञ्चन गरेको समेत भने। खिसीटिउरी पनि गर्नु गरे।
शुभचिन्तकले समेत आश्चर्य मिश्रित आँखाले हेर्थे।
उनीहरूले कसैलाई केही जवाफ फर्काएनन्। खुरूखुरू जमिन खने। साढे दुई विघा जमिनभरी ठिक्क ठिक्कका खाडल बनाएपछि कुखुरा र गाईवस्तुको मल हालेर भरे। 'रेड लेडी' जातको मेवाका रहरलाग्दा बिरूवा रोपे।
त्यसपछि वरिपरि तारबार गरे। भित्र सानो एउटा घर बनाए। विस्तारै उक्त डाँडोमा रोपेका मेवा बोटहरू हुर्किन थाले। चार/पाँच महिनामा त कुरा काट्नेहरूकै अघि ती बोटहरू मज्जाले हुर्किएर उभिए।