पाटनमा बिहीबार भएको विध्वंसले एउटा काम राम्रो गर्यो– महिनौंदेखि नसुनिएको जनताको स्वर रातारात सुनुवाइ भयो।
आइतबार पुल्चोकबाट रथ तानेर ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पाटीसम्म ल्याइएको छ। अब भदौ २९ गतेको साइतमा रातो मच्छिन्द्रनाथलाई सोह्रखुट्टे पाटीबाटै खटमा हालेर बुंगमती लगिनेछ।
महिनौंदेखि सडकमा अलपत्र छाडिएका बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथ आफ्नो घर बुंगमती फर्कंदैछन्।
यसबीच पाटनले एउटा उत्सव 'मिस' गर्नेछ। त्यो हो, अन्तिम दिन जावलाखेलमा देखाइने भोटोजात्रा।
सय वर्ष उमेर नाघेका संस्कृतिविद् सत्यमोहन जोशी 'भोटो नदेखाई रातो मच्छिन्द्रनाथ जात्रा सकिएको अहिलेसम्म कुनै रेकर्ड छैन' भन्छन्।
के हो यो भोटोजात्रा? कसको हो यो भोटो? के यो रातो मच्छिन्द्रनाथकै हो? होइन भने कसरी जोडिन पुग्यो?
राष्ट्र–प्रमुख, सरकार–प्रमुख र विशिष्ट अतिथिदेखि दसौं हजार जनता सहभागी हुने भोटोजात्रालाई रातो मच्छिन्द्रनाथको 'क्लाइमेक्स' वा 'ग्य्रान्ड फिनाले' मानिन्छ।
यो अवसरमा गुठी संस्थानका कर्मचारीले रथमाथि चढेर कालो रङको भोटो प्रदर्शन गर्छन्। झट्ट हेर्दा सानो बच्चा वा पुतलीको लुगाझैं लाग्ने यो भोटो हीरा, मोती, सुन र विभिन्न रत्नको जरीले टाढैबाट चम्किलो देखिन्छ। हीरामोतीको जरी लुगाको अग्रभागमा मात्र छ, पछाडि केही छैन। भोटो भनिए पनि हामीले देख्ने अरू भोटोजस्तो यसमा तुना भने छैन।
एक महिना चल्ने रातो मच्छिन्द्रनाथ जात्रामा भोटो देखाउने उत्सव अत्यन्तै छोटो हुन्छ। यो प्रायः साँझ ५ बजेतिर सुरू हुन्छ।
विशिष्ट अतिथिहरू जावलाखेल आइसकेपछि लाहा छाप लगाइएको रातो कपडाबाट भोटो झिकेर सबभन्दा पहिला रातो मच्छिन्द्रनाथलाई देखाइन्छ। त्यसपछि राष्ट्र–प्रमुख तथा सरकार–प्रमुखलाई देखाइन्छ, अनि रथ वरिपरि घुमेर चारै दिशामा पालैपालो प्रदर्शन गरिन्छ।
सार्वजनिक प्रदर्शनपछि भोटोलाई फेरि त्यही रातो कपडामा पट्टयाएर लाहा छाप लगाइन्छ। यसबीच सेनाको टुकडीबाट सलामीसहित राष्ट्रिय धुन बजाइन्छ।