'जाडोमा झन् धेरै समय बाँच्छ कोरोना भाइरस'

अमेरिकामा गरिएको एक नयाँ अध्ययनले चिसो बढ्दै गएपछि घर बाहिरका सतहहरूमा कोरोना भाइरस लामो समयसम्म बाँचिरहन सक्ने देखिएको छ।

उदाहरणका निम्ति, कुनै पदयात्रीको ज्याकेटमा कोरोना भाइरस अड्केर बसेको छ र ज्याकेट एक सातासम्मै बाहिर छ भने पनि कम तापक्रम र हावामा आद्रता घटेका अवस्थामा भाइरस जीवितै रहनेछ। र, त्यसको सम्पर्कमा आउने मान्छेलाई संक्रमित बनाउने खतरा रहिरहने यो अध्ययनले देखाएको हो।

जबकि, गर्मी महिनामा यही अवस्था हुन्थ्यो भने उक्त ज्याकेटमा रहेका भाइरस एकदेखि तीन दिनमै मरिसक्ने थियो।

जाडो याममा यसरी लामो समयसम्म बाँचिरहने अवस्थाले गर्दा यो भाइरसले संक्रमणको नयाँ लहर पैदा गर्ने सम्भावना कान्सास स्टेट युनिभर्सिटीको भेटेरिनरी माइक्रोबायोलोजीका प्राध्यापक योर्गन रिक्ट नेतृत्वको टिमले देखेको छ। यसले पृथ्वीको उत्तरी गोलार्द्ध (जसमा नेपाल पनि पर्छ) मा नयाँ संक्रमण लहर ल्याउन सक्ने अनुमान अध्ययन टोलीले गरेको छ।

बिआइओआरएक्सआइभी डट ओआरजी वेबसाइटमा राखिएको यो अध्ययन प्रतिवेदनको 'प्रि-प्रिन्ट' बारे अहिलेसम्म आन्तरिक समीक्षा भने भइसकेको छैन।

जाडो र हावामा कम आद्रता हुने सिजनमा घरभित्रै पनि यो भाइरस अझ लामो समय बाँच्न सक्ने उनीहरूको अनुमान छ। अध्ययनका अनुसार ढोकामा स्टिलले बनेका ह्यान्डल वा चुकुलहरूमा ८ घन्टा वा झ्यालहरूमा झन्डै १० घन्टासम्म बाँच्दै आएको यो भाइरस अब जाडो लागेपछि झन्डै दोब्बर समय ती स्थानमा बाँच्ने देखिएको छ। अर्थात् २० घन्टासम्म।

कोरोना भाइरसका कारण हुने रोग कोभिड–१९ ले अहिलेसम्म मानव जातिलाई राम्रैसँग अँठ्याउन सक्षम भइसकेको छ। अहिलेसम्म कुनै पनि मान्छेमा यो भाइरस संक्रमण हुने आधार भनेको या त संक्रमितको श्वासप्रश्वास प्रणालीबाट निस्केका  छिटा (थुक, र्‍याल) हरू हुन् वा भाइरस बसेका सतहबाट हो। भाइरस परेको सतह छुने र त्यही हातले आफ्ना नाकमुख छुँदा संक्रमण भएको पाइएको छ।

प्रकाशित मिति: : 2020-09-06 23:36:54

प्रतिकृया दिनुहोस्