मेरो आदर्श र जीवन सिकाइको स्रोत पिता (विश्वेश्वरप्रसाद कोइराला) नै हुनुहुन्छ ।
मलाई राम्रो सम्झना छैन । हामी कसरी बनारस पुग्यौं । त्यहाँ पुग्दाका कठिनाइहरू के-के थिए । के झेल्यौं । उत्तरवाल्यावस्था कस्तो रह्यो, त्यो मैले बताउन सक्ने कुरा भएन ।
जब हुर्किएँ । संसार बुझ्न थालेँ । त्यतिबेला पिता नै मेरो प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो । बाबु भनेपछि हाम्रो दिमागमा अलग्गै धारणा तयार हुन्छ। बिम्बहरू सलबलाउन थाल्छन् । बाबुहरू दण्ड दिने मनोभाव, स्वभावका हुन्छन् भनेर चर्चा नभएको होइन ।
तर, बीपीको स्वभाव अत्यत्न भिन्न प्रकारको थियो । बालमनोविज्ञानका सूक्ष्म अध्येता हुनुहुन्थ्यो । मलाई सम्झना भएसम्म उहाँले कहिल्यै झर्कोफर्को गर्नुभएन । बालबच्चलाई हात फर्काउनु भएन । कटु बोल्नुभएन । केटाकेटी देख्नेबित्तिकै पुलकित हुनुहुन्थ्यो । पिता हाम्रो आस्था र विश्वासको खाँबो रहिरनुभयो । र, हामी श्रद्धाले निहुरिरह्यौं, सदैव ।
बाल्यावस्थामा म चन्दा मामा भन्ने कमेडी खालको किताब आउँथ्यो । हस्यौली ठट्यौली मिश्रित हुन्थ्यो । पढ्दै खितखिताउँथे । जीवन सीप सिकाउने होइन, केवल मनोरञ्जनको माध्यम थियो त्यो । उहाँलाई त्यो मन पर्दो रहेनछ ।
एक दिन किताब हातमा लिएर हाँस्दै थिएँ । बाबु आइपुग्नु भयो । उहाँको अनुहारको भावभङ्गिमा हेरेरै बुझिहालेँ- उहाँलाई मैले पढेको किताब मन परिरहेको छैन ।
नभन्दै उहाँलाई त्यस्तो किताब नपढोस् भन्ने लागेको रहेछ । उहाँले आफ्नै स्वभाव-शैलीमा भन्नुभयो, “अलि सिरियस (गम्भीर) किताब पढ् ।”