आखिरमा खुसी भनेको के हो! खुसी दर्शन हो कि आत्मज्ञान हो वा निर्वाण प्राप्ति कि ध्यान हो? मानिस हरपल खुसीको खोजीमा हुछन्। जीवनलाई सार्थक र सुन्दर बनाउन खुसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले नै होला यसको खोजमा लागिरहन्छन्, लागिरहेछन्। आफ्नो वरिपरिको परिवेशलाई क्रान्ति भावले हेर्न सके हाम्रो मन मष्तिष्क शान्त हुँदैँ आनन्दित हुन्छ। त्यही आनन्द नै खुसीको एउटा अवधारणा हो जस्तो लाग्छ मलाई त।
यसैले जतिसुकै मूल्यमा पनि किन्न नसकिने खुसी भन्ने कुरा आफैभित्रबाट आउने तरङ्ग हो कि के हो? के यो कसैले भन्न सक्छ? आफैबाट सुरू भएर आफैसँग अन्त हुने मानिसको खुसी विचित्रको लिला हो कि के होला अन्योल हुँदाहुँदै पनि सहीजस्तो पनि लाग्छ। जुन आफै भित्रबाट उजागर गरेर सन्तुष्ट प्राप्त गर्नु र बाहिरी खोजमा नभौँतारिनु हो सायद। यसैले खुसी भेट्नेहरू भन्छन्- सकारात्मक भावना लिएर प्राप्त हुने खुसीमा शक्ति प्रवाह भइरहेको हुन्छ।
खुसी शब्दको सटिक अर्थ नै केलाई भन्ने हो थाहा छैन मलाई। तर यो अनुभूत गर्ने कुरा हो कि जस्तो पनि लाग्छ। कहिलेकाहिँ के कारण र किन कोबाट खुसी भइयो भन्ने हेक्का समेत नरहेर पनि खुसी हुन सकिने रैछ। यसैले परिभाषित नै नहुने खुशीको दर्शन भन्नु नै सबैको बारेमा राम्रो सोचेर आफू बाँचेको युग हाँक्नु हो सायद। क्षणक्षणमा खुसी हुनु र निराश हुनु मानव जीवनको अनौठो तारतम्य, कस्तो विचित्रको वा। त्यसैले त दुखमा नआत्तिनु र सुखमा नमात्तिनु भन्ने एउटा उक्ति छ। यसलाई मनन गरेर चल्नु नै खुसीको सौन्दर्य हो जस्तो पनि लाग्छ।