अस्पतालभित्र सघन कक्षको ढोका खोलेर बाहिर निस्किँदै गर्दा डाक्टरले भने, ‘बिरामीलाई धेरै नै तनाव भएकोले ‘ब्रेन स्ट्रोक’ भएको हो। उहाँलाई बचाउन निकै कठिन छ। केही गरी बाँच्नु भयो भने पनि उहाँलाई पहिलाको जस्तो स्वस्थ्य अवस्थामा फर्काउन अलि समय लाग्छ। उहाँलाई पक्षघात हुने सम्भावना धेरै छ।’
डाक्टरको कुरा सुनेर मैले दुई हातले टाउको छामेर थचक्क अस्पतालको भूईँमा बसेँ। भाउन्न छुट्यो, बल्ल बल्ल उठेर सघन कक्ष बाहिरको सानो झ्यालबाट च्याएर हेरेँ। भर्खरै ३५ वर्ष पुगेकी मेरी माइली बहिनी शिला भेन्टिलेटरको साहराले सास फेर्दै थिई। हातभरी अनेकथरी तार बाँधिएका थिए। आँखा बन्द थियो। मैले डाक्टरलाई सोधेँ, ‘डाक्टर साहेब, म एकपटक बहिनीसँग भेट्न सक्छु?’ डाक्टरले सहमतिमा टाउको हल्लाए। म बिस्तारै ढोका खोलेर भित्र पसेर बहिनीको छेउमा बसेँ। रोक्दा रोक्दै मेरो आँखाबाट आँशु झरेर गालाको बाटो हुँदै उसको निधारमा खस्यो। उसले आँखा खोली तर हात उठाउन सकिनँ। मुख पूरै बांगिएको थियो। बहिनीको अवस्था देखेर मैले उसँग कुरा गर्न सकिनँ। उसले आँखाभरी आँशु पार्दै लरबरिएको स्वरमा भनी, ‘दाई मेरो छोरा र छोरी टुहुरो हुने भए। मेरो जीवन यतिनै रहेछ।’ मेरो आँखा निरन्तर वर्षिरहेको थियो। मैले आँशु पुछ्दै भनेँ, ‘पिर नगर बहिनी तिमीलाई केही हुदैंन।’ उसलाई सान्त्वना दिन त मैले भनिदिएँ तर म आफैंलाई थाहा थिएन उ त्यो अस्पतालको शैयाबाट उठेर आउँछे कि आउँदिन भन्ने। उसको अवस्थाप्रति म अनभिज्ञ थिएँ।
बाहिर एकातिर कान्छी बहिनी अनि अर्कोतिर कान्छो ज्वाईँ उदास अनुहार बनाएर बसिरहेका थिए। कान्छी बहिनीको आँखा बर्सिनै रहेको थियो। उसलाई नरोउ पनि भन्न सकिनँ। कसरी भन्न सक्थेँ म? मृत्युसँग लड्दै गरेकी आफ्नी दिदीलाई देखेर कसको मन नरोला र? सायद मृत्यु जीवनभन्दा कयौं गुणा सुन्दर हुन्छ। त्यसैले त मेरी बहिनी कलिलै उमेरमा मृत्युको मुखतिर पुग्दै थिई। कान्छी बहिनी र कान्छो ज्वाईँलाई बिरामी बहिनीको रेखदेखको जिम्मा लगाएर म घरतिर गएँ।
घर जाने बेलासम्म पनि माईली बहिनीको घरबाट कोही आएका थिएनन्। बिरामी हुनासाथ खबर गरिदिँदा ‘म के गरौं त?’ भन्ने जवाफ दिएर पन्छिन खोजेकी थिईन् बहिनीकी सासु। अघिल्लो दिन कान्छी बहिनीको घरमा बसेर गफ गरिरहेकी माईली बहिनी अर्को दिन अस्पतालमा थिई। यो कस्तो खेल हो समयको? बिरामी बहिनीलाई त्यसै छोडेर जान त मन थिएन। तर घरमा पनि नगई नहुने काम परेर म त्यहाँबाट निस्केँ।
लकडाउनले सुनसान भएको काठमाडौं शहरमा एक्सिलेटर बटार्दै बाईक कुदाउँदै थिएँ। बल्ल बल्ल पासको व्यवस्था गरेको थिएँ। हैन भने घरदेखि अस्पताल ओहोरदोहोर गर्न यस्तो बेलामा कति मुस्किल पर्थ्यो मलाई? बाईक जति स्पीडमा कुद्दै थियो। त्यति नै स्पीडमा यो मन कुदिरहेको थियो । मेरो कुदिरहेको मन कता पुग्यो कता।
***
बुवा भारतमा जागिरे हुनुहुन्थ्यो। हामी सबै भारतमै बस्थ्यौं। भारतमै शिक्षा हासिल गर्यौं। कलिलै उमेरमा चार सन्तान जन्माउनुभएकी हाम्री आमाको स्वास्थ्य पहिल्यैदेखि कमजोर थियो। त्यसैले आमाको ३८ वर्षको कलिलै उमेरमा अचानक मृत्युभयो अनि हामी नेपाल फर्कियौं।
नेपालमा बुवाको पूर्ख्यौली सम्पत्ति अलिअलि थियो। त्यसैमा बुवाले दुःख गरेर सानो घर बनाउनुभयो। दिदीको भारतमै विवाह भएको थियो। यहाँ दुई बहिनी, म र बुवा बस्थ्यौं।
माईली बहिनीलाई सानैदेखि गाउन र नाँच्नमा निकै रुचि थियो । त्यसैले उ प्राय सांगीतिक कार्यक्रम हेर्न पुग्थी। त्यहीँ भेटेकी थिई उसले आफ्नो जीवनसाथी दिपेशलाई। उसले दिपेशलाई मन पराएको थाहा पाएपछि म आफैं गएको थिएँ दिपेशको परिवारलाई भेट्न। त्यतिखेर दिपेशको बुवाले मेरो बहिनीलाई जे जति भनेका थिए त्यसको चोट अझै आलो छ मेरो मनमा।
तैपनि भाग्यमा लेखेको कुरा दुनियाँको कुनै पनि शक्तिशाली ईरेजरले त मेट्न सक्दैन भने हामीले कसरी सकौंला र? उसको भाग्यमा दिपेशसँग विवाह हुन लेखेकै थियो। सुरुसुरुमा उ निकै खुशी देखिन्थी । सुरुसुरुमा मात्रै के? उ त अस्पतालको शैय्यामा सुत्नुभन्दा दुई दिन अगाडिसम्म पनि खुशी नै देखिन्थी।
दायाँ बायाँबाट पुलिसले सिठ्ठी र अघिपछिबाट गाडीले हर्न बजाएपछि म झस्केँ। मलाई बल्ल याद आयो कि म बाटोमा छु अनि बाईक चलाईरहेको छु। बल्लबल्ल मुस्किलले आफूलाई सम्हाल्दै बाईक चलाएर घर पुगेँ। घर पुगेर फेसबुक खोलेँ। धेरै भईसकेको थियो मैले सामाजिक सञ्जालमा भुलिन छोडेको। खै किन हो मलाई धेरैपछि मेरी बिरामी माईली बहिनीको प्रोफाईल खोल्न मन लाग्यो। यो भन्दा पहिले मैले कहिल्यै पनि उसको प्रोफाईल खोलेर हेर्ने र उसको बारेमा सोधखोज गर्ने चेष्टा गरिनँ।
माईली बहिनीले आफ्नो फेसबुकमा यति धेरै दुःखद् पोस्टहरु गरेकी रहिछे। उसले फेसबुकको भित्तामा शेयर गरेका हरेक पोष्टले ऊ जीवनसँग कति हार खाईरहेकी छे भनेर प्रस्ट झल्किरहेको थियो। त्यो देखेर मैले आफैंलाई धिक्कार्न थालेँ। यो सब हुनुको जिम्मेवारी कतै न कतै म पनि हुँ। उसको अभिभावक भन्नु नै मै थिएँ। मैले उसको बारेमा सोधखोज गरेर उसको हालखबर बुझ्नु पथ्र्यो। तर म त आफ्नै घरपरिवार र आफनो काममा यति समित भएँ कि मैले न त मेरी दुई बहिनीहरुको ख्याल राखेँ न त सात समुन्द्रपारी भएकी मेरी दिदीको नै। ‘यति स्वार्थी कसरी हुन सक्छु म?’ मैले अन्तरआत्मासँग प्रश्न गरेँ।
माईली बहिनी सानैदेखि धेरै बोल्दिन थिई। उसलाई चाहिएको कुरा हामी आफैंले उसलाई बुझेर दियौं भने ठिकै थियो नत्र उसले कहिल्यै कुनै कुराको गुनासो गर्दिन थिई। उसको मनमा खेलेका कुराहरु कहिल्यै बाहिर प्रस्फुटन भएनन्। हरेक कुरा मनमै दबाएर राखी उसले। त्यसैको फलस्वरुप उसलाई ‘ब्रेन स्ट्रोक’ भएको थियो ।
अचानक मेरो शरीरको रगत उम्लेर आयो। मन त थियो कि अहिल्यै गएर म मेरी बहिनीको यो अवस्थाको लागि उसको परिवारलाई गाली गरौं । तर..यो सबै समय त्यसको लागि थिएन। पहिला त मैले मेरो बहिनीलाई बचाउनुथियो। यो सुन्दर संसार हेर्न फिर्ता ल्याउनुथियो। मैले स्वर्गीय बुवा र आमाको तस्वीर हेरेँ अनि भनेँ, ‘बुवा, आमा म बहिनीलाई केही हुन दिने छैन तपाईहरू पीर नगर्नू। यसपटक म बहिनीमाथि कुनै अन्याय हुन दिने छैन । बस् एकपटक मेरो बहिनी ठिक होस् उसको रेखदेख म स्वंय गर्नेछु।’
थाहा छैन मेरो आवाज बुवा र आमाको कानसम्म पुग्यो कि पुगेन तर उहाँहरुले फोटोबाटै आर्शिवाद दिएको अनुभव भयो।
लकडाउनले गरेर विगत केही महिनादेखि अस्तव्यस्त भइरहेको यो महंगीको शहरमा मेरो काम ठप्प भईरहेको थियो। अब बहिनीको उपचार खर्च कसरी जुटाउने होला भनेर मनमा अनेक थरी तर्कविर्तक खेलिरहेका थिए। म थकैले चुर भएर एकैछिनमा निदाएछु ।
भोलिपल्ट म विहानै उठेर मेरी श्रीमतीलाई खबर गरेर फेरि अस्पतालतिर दौडिएँ । कान्छी बहिनी र ज्वाईँ पहिल्यैदेखि आएर बसिरहेका रहेछन्। मैले सोधेँ, ‘दिपेश ज्वाईँ आएका छैनन्।’ कान्छी बहिनीले केही बोल्नलाई मुख खोल्दै थिई अचानक चुप भई। उसले ईशारा गरे अनुसार मैले पछाडि फर्केर हेरेँ। माईलो ज्वाई र उसका परिवार हामी तर्फ आउँदै थिएँ। आँखामा अलिकति पनि मेरी बहिनीको लागि पीर थिएन। कुनै पश्चाताप थिएन। ‘नमस्कार दाइ नजिकै आएर माईलो ज्वाईँले भने।’ उनको मुखबाट ह्वास्स रक्सीको गन्ध आईरहेको थियो। मैले आफूलाई सम्हाल्न सकिनँ। मेरो मनस्थिति बुझेर कान्छो ज्वाईँले मलाई सम्हाल्दै भने, ‘दाइ यी सब कुराको लागि यो सही समय हैन। हाम्रो दिदी त त्यहाँ ज्यूँदो लाश भएर बस्नुभएको रहेछ। सोच्नुस् त यदि त्यो दिन दिदी त्यहीँ घरमा बेहोस् हुनुभएको भए के हालत हुन्थ्यो? कमसेकम दिदीको उपचार भईरहेको छ। मलाई आशा छ दिदी ठिक हुनुहुनेछ।’ कति फरक छ यी दुई ज्वाईँहरुमा? दिपेश सधैं ज्वाईँ नै बनेर बसे। उनीभित्र अहम थियो धेरै। तर मेरो कान्छो ज्वाईँ विपिन भगवान सरह थिए। उनी ज्वाईँभन्दा बढी भाइजस्ता थिए मेरा लागि।
मैले दिपेशतर्फ नहेरी मुन्टो बटारेँ। दिपेशको आमा अर्थात् मेरी बहिनीको सासु पनि सँगै थिईन्। मैले मनभित्रको कुण्ठालाई मनमै दबाएर दुई हात जोडेर नमस्कार गरेँ। उनले मेरो नमस्कार फर्काउनुको साटो भनिन्, ‘मिलाको घरमा त्यसदिन नगएको भए शिलाको आज यो अवस्था हुने थिएन। हेर्नुस् हामीसँग अहिले एक पैसा पनि छैन। त्यसैले शिलाको उपचारको खर्चको बारेमा हामीलाई केही नभन्नुहोला। ईश्वरको कृपाले उनको स्वास्थ्य अवस्था ठिक होस् तर यदि ठिक भएन भने उनको छोरा र छोरीको जिम्मा लिन सक्दिनँ।’ कति सजिलै भनिदिईन् उनले यो कुरा।
मैले उनलाई माथिदेखि तलसम्म हेरेँ। यो उमेरमा पनि कुनै मोडेलभन्दा कम थिईनन् उनी। तर उनको सोच? उनको सोच निकै बुढो भईसकेको थियो। मनमा अलिकति पनि दयाभाव थिएन। बुहारीको अवस्थाप्रति कुनै चिन्ता थिएन। अँ एक जना ससुरा चिन्तित देखिन्थे आफ्नो बुहारीको अवस्थाप्रति नत्र अरू त आफ्नै जीवनमा मस्त थिए। सायद उनीहरुले बिर्सेका थिए। आज जुन अवस्था मेरी बहिनीको भयो त्यो अवस्था भोलि जो कोहीको पनि हुनसक्छ। एकदिन यो मुहार चाउरेर र शरीर जलेर जान्छ तै पनि मानिस तछाडमछाड गरिरहेछन्। किन? आखिर यो सब केका लागि?
करिब एक महिनाको उपचारपछि भगवानले हाम्रो पुकार सुने। शिला ठिक भई। पूर्णरुपमा ठिक नभए पनि उसले हाँस्न सकी, रून सकी। यस्तो पहिलोपटक भयो जब मेरी बहिनी रोई अनि म हाँसे। किनकी यतिका दिन त ऊ ज्यूँदो लास भएर बसेकी थिई। तर अब उसमा भाव थियो। ऊ महसुस गर्न सक्थी।
डाक्टरले मलाई हेरेर भने, ‘तपाईँहरूको विश्वास र मायाले उहाँलाई ठिक भएको छ। अब बिरामीलाई चोट पर्ने र दुःखी हुने काम नगरिदिनुहोला।’ बहिनीलाई ह्विल चेयरमा राखेर लैजाँदै थिएँ अचानक दिपेश आएर भने, ‘दाइ मलाई माफ गरिदिनुस्। म शिलालाई आफैंसँग लगेर राख्छु। धेरै माया दिन्छु अनि खुशी राख्छु।’ मैले मेरी बहिनीले दिपेशको घरमा बिताएका दुःख सम्झेँ। उसले फेसबुकमा पोखेका कुण्ठाहरु सम्झेँ अनि भनेँ, ‘भयो ज्वाईँ आजसम्म मेरो बहिनी स्वस्थ्य हुँदा त उसले तपाईको घरमा माया र सम्मान पाईन भने आज ह्विलचेयरको साहरामा बाँच्ने मेरी बहिनीको स्याहार तपाईँले गर्नुहुन्छ भनेर म कसरी विश्वास गरौं?’
आजको दिनसम्म मैले बहिनीलाई जति बेवास्ता गरेँ त्यसको लागि मलाई आत्माग्लनी भएको छ। मेरी बहिनी मेरो लागि कहिल्यै बोझ हुँदिनँ।’ ज्वाईँले अविश्वासपूर्वक मलाई हेरेँ। म माईली बहिनी अनि उसको छोरा र छोरीलाई लिएर घर गएँ। म र मेरी श्रीमतीले पालैपालो बहिनीको ख्याल राख्यौं। स्याहार सुसारमा कुनै कमी राखेनौं। हामीले उसलाई बुवा र आमाको माया दियौं। मानिसलाई औषधिभन्दा पनि प्रेम र स्नेहले छिटो निको पार्दोरहेछ। केही महिनाको फिजियोथेरापी र औषधिले बहिनी बिस्तारै ठिक हुँदै गई। बहिनीलाई पहिलाकै अवस्थामा देखेर मेरो ओठमा निकै लामो समयपछि मुस्कान देखापर्यो। बहिनी हिड्न थाली। बहिनी हिँड्न थालेदेखि ह्विलचेयरको आवश्यकता परेको छैन। बहिनीको स्वास्थ्यमा सुधार हुन थालेपछि ह्विलचेयरले आफ्नो निश्चित बस्ने ठाउँ पाएको छ।