सहाना प्रधानको गुन्यूदेखि शिरबन्दीसम्मको मान र अपमान

रातोपाटी

काठमाडौँ

नरेन्द्रराज प्रसाई

सहाना प्रधान जनउत्थान या प्रजातन्त्र र नारी जागरणको हिसाबमा राजनीति गर्थिन्; तर अधिकांशचाहिँ विदेशलाई रिझाउन राजनीति गर्थे । त्यसैले उनीहरूको सोचको बीचमा ठूलो खाडल थियो तापनि उनी भनिरहन्थिन्— ‘महिलाहरूलाई अझै प्रजातन्त्र आएको छैन ।’ वास्तवमा गणेशमान सिंहहरू र सहाना प्रधानहरू समेतले सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्रमा पछिपछिका दिनमा न गणेशमान सिंहको हैसियत थियो न सहाना प्रधानको नै हैसियत थियो । नेपालमा लुटी ल्याएर भुटी खानेका लागि मात्र प्रजातन्त्र आएको देखिन्थ्यो ।

यसबारे दुःखित हुँदै सहानाकी छोरी उषा श्रेष्ठ बोलेकी थिइन्— ‘अहिलेका नेताहरूले व्यक्तिगत स्वार्थलाई मात्र सर्वोपरी ठान्दछन् । यत्रो राजनैतिक स्वतन्त्रता र महिलाहरूको लागि आन्दोलनमा नेतृत्व लिएकी मेरी आमाले पार्टीबाट र राष्ट्रका तर्फबाट केही सम्मान पाउनु भएन ।’ तर सहाना प्रधानले चाहिँ यो पाएँ र यो पाइँन भनेर कहिल्यै आवाज निकालिनन् । बरु उनले राष्ट्रको चौतर्फी विकास र जनसमृद्धिका लागि मात्र चिन्तन गरिरहिन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालका शब्दमा भन्ने हो भने- ‘सहाना  प्रधान देशभक्तिपूर्ण आन्दोलनमा चिन्तनरत’ राजनेता थिइन् । उनी समग्र नेपालको विषयमा जसरी चिन्तित थिइन्; नारी हक, हित र संरक्षणका लागि त्योभन्दा दोब्बर लागिपरेकी थिइन् । तर पनि राजनीतिको माथिल्लो तहमा रहेर राष्ट्रको विकासहेतु आफ्नो गच्छे रोप्न उनले विहङ्गम दृष्टि राखेकी थिइन् । वास्तवमा उनको सोचअनुसारको काम गर्न उनलाई चारैतिरबाट प्रपञ्च रचिएको थियो । त्यतिखेर उनीप्रतिको धारणा उनका मनले थेग्न नसकेर उनी स्वयम् बोलेकी थिइन्— ‘महिला भएकै कारणले महिला सङ्गठनमा जानुपर्ने मेरो मनले खाएको थिएन ।’ अनि उनको खासै रुचि नभए तापनि उनी २०४६ सालपछि अखिल नेपाल महिला सङ्घमा दुई कार्यकाल अध्यक्ष भएकी थिइन् ।
 

प्रकाशित मिति: : 2020-09-05 08:53:32

प्रतिकृया दिनुहोस्