नेपाल र भारतबीच करिब १ हजार ८०० किलोमिटर लामो खुला सिमाना नेपालको राष्ट्रिय हितमा नरहेको विषयमा सधैँ चर्चा र बहस हुनेगरेको छ । खुला सिमानाको दुष्प्रभावको विश्लेषण गर्दा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्रि सन्धि त्यसको मुख्य कारक रहेको धेरैको बुझाइ छ । त्यतिमात्र होइन उक्त सन्धि असमान हुनाको साथै त्यसले नेपालको सार्वभौमिकताको सम्मान गर्दैन भन्ने पनि सामान्य नेपालीको ठहर छ । भारतीय नागरिकको नेपालमा बेरोकतोक आवतजावत भइरहेकाले तुलनात्मकरुपमा सानो देश नेपालको आर्थिक, सामाजिक, राजनीतिक आदि क्षेत्रमा व्यापक प्रभाव परेको भनी नेपालीमाझ चिन्ता हुनु स्वाभाविकै हो । हाल फैलिरहेको कोभिड–१९ महामारीका दौरान नेपालले प्रयास गर्दागर्दै पनि भारतबाट संक्रमित नेपाल छिर्ने क्रम नरोकिएको तथा केही समयअघि भारतले नेपालको कालापानी भूभाग समेत समेटी आफ्नो नयाँ नक्सा प्रकाशित गरेकाले नेपालमा यो विषय अझ बढी पेचिलो र गम्भीर भएको छ ।
नेपाल–भारत खुला सीमाको बारेमा कतिपय भारतीयको बुझाइ भने फरक छ । खुला सिमानाकै कारण लाखौं नेपालीले भारतमा रोजगारी पाइरहेका, नेपालीहरुलाई सीमा पार गई उपभोग्य वस्तु खरिद गरी दैनिक जीवननिर्वाह गर्न सहज भइरहेको, नेपालले भारतबाट बर्सेनी ठूलो मात्रामा रेमिट्यान्स भित्र्याई रहेको जस्ता कारणहरुले गर्दा तुलनात्मकरुपमा नेपाललाई लाभ बढी भएको भारततर्फको जिकिर हुनेगरेको छ । अर्कोतर्फ, प्रदेश नं २ मा मात्र नभई पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म सीमामा बस्ने अधिकांश नेपालीहरु खुला सिमानाको कारण दैनिक जीवन गुजारा गर्न सहज भएको अनुभव गर्छन् । त्यसमाथि, दुवैतर्फका जनताबीचको शताब्दीयौंदेखि रहँदै आएको सामाजिक सांस्कृतिक सम्बन्धको विशिष्ट महत्त्व त छँदैछ ।