काठमाडौं- धर्म, परम्परा, संस्कार र संस्कृतिका यावत् विषय मानवीयता भन्दा बाहिर कहिल्यै छैन। तर धर्मका नाममा मानवीयतालाई नसुहाउने कर्महरु बेलाबखत देखिइरहन्छन्। जसमा केहीको मूर्खतामा वर्षौंसम्म मानवता लज्जित भइरहनु पर्दछ।
परोपकार पुण्याय पापाय परपीडनम्। अरूको उपकारले पुण्य प्राप्त हुन्छ। अर्कालाई पीडा दिँदा पाप हुन्छ भनिने नै हाम्रो संस्कार हो। १८ पुराणले दिने तात्विक ज्ञान पनि अरुको उपकारमा नै छ। रातो मच्छिन्द्रनाथको पनि त उत्पत्ति अनिकालमा रहेका उपत्यकाबासीलाई जोगाउने कल्याणका लागि भएको जनविश्वास छँदैछ।
बिहीबार दिउँसो ललितपुर पुल्चोकमा मच्छिन्द्रनाथ रथजात्रामा जे देखियो त्यो धर्म संस्कारले सिकाउने मानवताभन्दा निकै पर थियो। प्रहरीमाथिको ढुंगा प्रहार र एक ट्राफिक प्रहरी निर्घात कुटिएका दृश्यहरु श्रद्धालुलाई सुहाउने र सोच्नसम्म सकिने विषय होइन।
मच्छिन्द्रनाथ करुणामयका रुपमा पनि पुजिन्छन्। जसले मानवमात्रको सुख र सहृदयलाई प्रतिनिधित्व गरिरहेका छन्। त्यस्तो करुणामयको करुणा बिर्सिएर सुरक्षा निकायमाथि पोखिएको रिस राज्यद्वारा थुपारिएको निराशा र कुण्ठाको परिणाम मात्र होइन। मानवीय मनमा विकास हुन नसकेको करुणाको परिणति हो।