ओलीको पहिलो महत्वपूर्ण पराजय

काठमाडौँ- बद्लिएको समीकरण र पछिल्लो चरणमा कुनै बेला आफ्नो निकट रहेका पार्टीका असन्तुष्ट शीर्ष नेताहरुबाट अलग भई दरिलोसँग नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग या समर्थन गरेबापत अन्ततः नेता बामदेव गौतम प्रतिनिधिसभा निर्वाचन हारेको ३ वर्ष नपुग्दै राष्ट्रिय सभामा प्रवेश गर्ने भएका छन्।

त्यतिमात्रै होइन, प्रधानमन्त्री ओलीका अत्यन्तै निकट मानिएका अर्थमन्त्री डा. युवराज खतिवडालाई बिस्थापित गरेर उच्चतम् शक्ति केन्द्रमा आफ्नो हैसियत स्थापित गर्न गौतम सफल भएका छन्।

प्रधानमन्त्री ओली दुविधामै रहेका बेला बिहीबार बिहानै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पूर्वनिर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने पक्षमा रहेको र दिउँसो हुने केन्द्रीय सचिवालय बैठकमा सोहीअनुरुप प्रस्ताव राख्ने जनाउ दिएपछि ओलीको विकल्प साँघुरिएको थियो।

ओलीमाथि उनकै समर्थकहरुबाट पनि खतिवडाले मुलुकमा लगानी भित्र्याउन नसकेको, आर्थिक उन्नतिमा खासै सफलता हासिल नगरेको अवस्थामा उनलाई अर्थमन्त्रीमा दोहोर्‍याउनु उपयुक्त नहुने चेतावनी दिएपछि ओली थप असहजतामा धकेलिएका थिए।

अन्ततः यो समग्र परिस्थितिलाई ध्यानमा राख्दै ओली आफैले विगत ६ महिनादेखि रोकेर राखेको पार्टीको निर्णयलाई आफ्नै प्रस्तावका रुपमा केन्द्रीय सचिवालयको बैठकमा सुरुमै पेश गरे।

प्रकाशित मिति: : 2020-09-03 22:42:11

प्रतिकृया दिनुहोस्