भर्चुअल सोह्र श्राद्ध : पढ्न सजिलो, सिदा पुर्‍याउन गाह्रो !

अनलाइनखबर

काठमाडौँ

सुदर्शन अर्याल

आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । यस वर्षको सोह्र श्राद्धलाई कोरोना भाइरसको महामारी र निषेधाज्ञाले प्रभावित पारेको छ । यस्तो अवस्थामा पुरोहितहरुमाझ ‘भर्चुअल श्राद्ध’ गर्ने कि तिथि सार्ने भन्ने विवाद उब्जिएको छ ।

लकडाउन र निशेधाज्ञाका कारण स–साना बालवालिकाहरु अनलाइनमार्फत भर्चुल कक्षामा अभ्यस्त भइरहेका छन् । अब श्राद्ध गर्ने पुरोहितहरुले पनि त्यसैगरी अनलाइन माध्यमबाटै पूजाआजा गर्नुपर्ने, वा श्राद्ध नै स्थगत गर्नुपर्ने दिन आएको छ ।

अनलाइनबाटै श्राद्ध गर्न त सजिलै होला, तर यजमानबाट पुरोहितले पाउने चामल, दाललगायतका सिदा सर्दाम र दक्षिणा थाप्न अप्ठ्यारो हुने पुरोहितहरु बताउँछन् । यसका लागि पुरोहित र यजमानवीच  नगद नारायणका लागि मोबाइल बैंकिङमा जानुपर्ने अवस्था हुन सक्छ ।

विगतमा पशुपतिनाथ लगायत प्रशिद्ध मन्दिर वरपर लाइनमा बसेर श्राद्ध गराउने पुरोहितहरु सबैजना अनलाइन माध्यममा अपग्रेड हुन सहज चाहिँ छैन । किनभने, सबैसँग इन्टरनेटको पहुँच नहुन सक्छ ।

विगतमा जस्तै घरघरमा डुलेर श्राद्ध गर्नका लागि एक त निशेधाज्ञा छ, अर्को, कोरोना सर्ने जोखिम पनि उत्तिकै हुन्छ । किनभने, कोरोनाले धार्मात्मा वा पुरोहित भन्दैन ।

यस्तो परिस्थितिमा अनलाइनको पहुँचमा नपुगेका पुरोहितहरु बेरोजगार हुने सम्भावनालाई कोरोना महामारीले बढाइदिएको छ । हरेक क्षेत्रमा जस्तै व्यवसायिक पुरोहितको पेशा पनि संकटमा परेको प्रमाणका रुपमा यसलाई लिन सकिन्छ ।

कोरोना महामारी नआएको भए आजदेखि १६ दिनसम्म पशुपति मन्दिर आसपास पुरोहितहरुको भीड लाग्थ्यो । र, उनीहरुको कमाइ पनि मनग्ये हुन्थ्यो ।

प्रकाशित मिति: : 2020-09-02 11:58:44

प्रतिकृया दिनुहोस्