जापानका आबे र बालुवाटारका बाजे

हिजोआज बालुवाटारमा कसैले कतै जापानको नाममात्र लिँदा पनि कसैलाई घोचपेच गरेजस्तो, कसैको दुखेको घाउ निचोरेजस्तो अवस्था हुँदो हो । किनभने जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू स्वास्थ्यको कारणले सरकार चलाउन नसक्ने भएको जनाउँदै भाद्र ११ गते पदबाट राजीनामा दिएका छन् । त्यसैले जापानको मात्र होइन कसैले ‘पान खान जाऊँ’ भन्यो भने वा कसैले ‘आबुई !’ भनेर प्रतिक्रिया दियो भने पनि प्रधानमन्त्रीलाई आबेको नाम सुनाएर व्यङ्ग्य गरेको भन्ने निर्क्योल निस्कन सक्छ । फेरि सधैँ एकआपसमा नै को बालुवाटारको शत्रु भनेर प्रमाणित गर्न प्रतिस्पर्धा हुने स्थानमा यस्तो मौकाको सदुपयोग गर्नेको कुनै कमी पनि हुँदैन । 

परन्तु, गलत काम हाम्रा नेताबाट भएको होइन यी जापानी नै त्यस्ता हुन् । यी आबे नै हेर्नुस्, अलि कस्तो कस्तो मान्छेजस्तो लागेन ?  उनको ठूलो आन्द्रा र मलाशय नजिकै कुनै आन्द्रा सुनिने रोग सानैदेखि रहेछ, अहिले आएर अलि बढ्ने जोखिम देखिएको कारणले उनले राजीनामा दिएका रहेछन् । उनको राजीनामाको त बालै भएन नेपालीलाई तर मेरो कारणले सरकार कमजोर नहोस् भनेर पदबाट बिदा लिँदै छु भनेर किन भन्नुपर्ने नि ? नेपालजस्तो संसारकै उच्च देशको उदाहरण त हेर्नुपर्छ । देशको लागि कति त्याग गर्नुपर्छ भन्ने अलि ज्ञान त हुन्थ्यो । 

प्रकाशित मिति: : 2020-08-30 09:56:24

प्रतिकृया दिनुहोस्