गर्भमा धारण गर्यौ
नौ महिनासम्म सहेर कष्ट
मृत्युसँग लडेर दियौ जन्म
भुल्यौनि सबै दुःख
मेरो सुरक्षा गर्यौ ढाल बनेर
सारा जीवन समर्पित गर्यौ
मेरा लागि रक्षा कवच बनेर ।
मेरो हर इच्छा गर्यौ पूरा
दिइनौ हुन मेरो अनुहार सानो
जब विरामी हुन्थें म
घरमा लाग्थ्यो ताँति
धामी, वैद्य, डाक्टरको
तिम्रो हात हुन्थ्यो
सधैं निधारमा मेरो
खान इच्छा लागेको वस्तु
आउँथ्यो टेबलमाथि मेरो
कमी हुन दिइनौ केही कहिले
आँखामा आँसु बग्न दिइनौ कहिले ।
आज तिमी विरामी हुँदा
तिम्रो निधार छाम्ने
अवकाश छैन मलाई
तिम्रो इच्छा जान्ने
रहर छैन मलाई
तिम्रो स्याहार गर्नै बिर्सेछु
सोधे पनि दायित्व निभाए झैं
मेरो आँसु पुछ्थ्यौ ती हातले
तिम्रो आँसु बगेको ख्याल गरिन
मलाई खाना खुवाउँथ्यौ ती हातले
मैले कहिल्यै खाना खुवाइन यी हातले
मलाई डोराएर सर्वत्र लग्यौ घुमाउन
मैले कहिल्यै डोराएर लगिन तिमीलाई
तीर्थ तथा धामहरूमा
मेरा कपडा धोइदिन्थ्यौ सदैव
मैले कहिल्यै धोइन तिम्रा कपडा
के थियो तिम्रो इच्छा
के थियो तिम्रो चाह
सोधिन कैल्हे पनि मैले
गुनासो गरिनौ कहिले
मुस्कुराई रह्यौ सधैं ।
आज चिम्लियौ आँखा सधैंको लागि
छोडेर गयौ हामीलाई नयाँ संसारमा
जिउँदो हुँदा केही नगरेपछि
के गर्नु अब लडाएर पिण्ड
के गर्नु अब दिएर जलाञ्जली
के गर्नु अब शैय्या बस्त्र दान
के गर्नु अब दिएर गौदान
केे गर्नु अब सुनेर गरुड पुराण
मात्र विडम्बना हुनेछ यो
एउटा निष्ठूरी छोराको ।