सम्भव छ, निधिको उम्मेदवारीले रुखलाई छरितो बनाउनसक्छ

अनलाइनखबर

काठमाडौँ

मिनेन्द्र रिजाल

 

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो आधिकारिक उम्मेदवार प्रस्तुत गर्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशन प्रारम्भ भएको छ । १२ वर्षअघि डेमोक्र्याटिक पार्टीको राष्ट्रिय अधिवेशनको सम्झना मेरो मानसपटलमा अझै ताजा छ ।

त्यो अधिवेशनको अन्तिम दिन सो पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार बाराक ओबामाको उम्मेदवारी स्वीकार गर्ने भाषणबाट म अत्यन्तै तरङ्गित भएको थिएँ । अमेरिकाको २०६५ भदौ १२ गते राति ओबामाले त्यो भाषण गर्दा नेपाली समयअनुसार भाद्र १३ गते बिहान भइसकेको थियो ।

बिहान त्यो भाषण सुनेर मैले नेपाली काँग्रेसको चालु केन्द्रीय कार्यसमितिको बैठकमा ६० वर्षमाथिका सबै नेताले १२ औं महाधिवेशनपछि राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने प्रस्ताव राखेको थिएँ । सो प्रस्ताव राख्न आफूलाई प्राप्त अभिप्रेरणाबारे मैले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका विचारको सार स्मरण गर्न चाहन्छु ।

ओबामाको राष्ट्रपतिको उम्मेदवार स्वीकार गर्ने त्यो वक्तव्य अत्यन्तै प्रभावकारी थियो । एक त अमेरिकामा पहिलोपटक प्रमुख राजनीतिक पार्टीको तर्फबाट एकजना अश्वेत व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरिँदै थियो । त्यसमाथि उम्मेदवारीलाई अझ सबल रूपमा प्रस्तुत गर्न मार्टिन लुथर किंङले अत्यन्त लोकपि्रय भाषण गरेको ४५ वर्ष पूरा भएको वर्षगाठको दिन रोजिएको थियो  ।

मार्टिन लुथर किङ अश्वेत, विशेषतः अफ्रिकी मुलुकका अमेरिकी नागरिकको अधिकारका लागि अग्रपङ्क्तिमा संघर्ष गरेका नेता हुन् । रंगभेद, जातीय विभेदविरुद्धको आन्दोलनमा सबैभन्दा महत्वपूर्ण व्यक्तिका रूपमा उनको पहिचान अमेरिकामा मात्रै होइन विश्वमै व्याप्त छ । उनको सर्वाधिक लोकपि्रय भाषण भनेर ‘आइ हृयाभ अ ड्रिम’ (मेरो सपना छ) लाई मानिन्छ । त्यो भाषणको मूल सार भनेको ‘सबै मानिसहरू बराबर छन् भन्ने कुरा स्वतःस्पष्ट सत्यका रूपमा स्वीकार गर्ने हाम्रो मुलुक अमेरिका निर्माणको आर्दशलाई सम्झँदै हामी एकदिन ब्युँझने छौं र त्यस आदर्शको पक्षमा उभिनेछौं । त्यस्तो दिन आउने छ, अवश्य आउने छ, ‘मेरो त्यो सपना छ’ भन्ने थियो ।

प्रकाशित मिति: : 2020-08-28 17:56:55

प्रतिकृया दिनुहोस्