कालिमाटी बजार: जहाँ हजारौँ मान्छेको ‘जात्रा’, किन न फैलियोस् कोरोना (भिडियो)

कोरोना महामारीबीच कालीमाटी तरकारी बजारमा यस्तो ‘जात्रा’

शनि शाक्य

काठमाडौं

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तिब्र रूपमा फैलिएसँगै सरकारले भदौ ३ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। सुरूमा एक सातका लागि तोकिएको निषेधाज्ञा पुनः एक साता थपेर भदौ १७ गते मध्यरातसम्म पुर्‍याइएको छ।

निषेधाज्ञासँगै नेपालको संघीय राजधानी उपत्यकाका सबै गतिविधि बन्द छन्। अति आवश्यक तथा खाद्यान्न पसल बिहान सवा नौ बजेसम्म खोल्ने र दिउँसो  औषधि पसलबाहेक सबै बन्द गर्ने निर्णय गरिएको छ।

प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा सोही अनुसार उपत्यकामा कडाइ थालेको छ तर मध्यरातपछि खुल्ने कालीमाटीस्थित तरकारी थोक बजारलाई भने प्रशासनको निषेधाज्ञालाई छोएको देखिँदैन।

कालीमाटी थोक तरकारी बजार राति १ बजेदेखि खुल्छ। अनि सुरू हुन्छ– तरकारी किन्न जानेहरुको भीड। कोरोना भाइरसको कुनै फिक्री नमानी त्यहाँ जम्मा भएका क्रेता–विक्रेताको भीड कुनै जात्राभन्दा कम हुन्न।

कालीमाटीमा तरकारी लिन जानेले न त सामाजिक दूरीको हेक्का राख्छन् न त कुनै अन्य स्वास्थ्य मापदण्डको सचेतता नै अपनाउँछन् ।

तरकारी बजारको बिहानको अवस्थालाई हेर्ने हो भने यस्तो लाग्छ–यहाँ कोरोना भाइरसको कुनै त्रास छैन। उपत्यकाभित्र निषेधाज्ञा छ भन्ने आभास त्यहाँ मिल्दैन।

तरकारी बजारबाहिर मूल सडकदेखि भित्रसम्म सवारी साधनको भीड लाग्छ। सामान्य बेलाको जस्तै मोटरसाइकल पार्किङ गर्ने ठाउँ हुन्न।

तरकारी पसलमा किन्नेहरुको घुइँचो उस्तै छ । उनीहरुले न त पीपीई लगाएका छन्, न त मास्क नै ।

जरूरी काम विशेषले बाटोमा निस्केकालाई प्रहरीले रोकेर घण्टौं बाटोमै ‘स्थानहद’ गर्दै आएको छ तर कालीमाटी तरकारी बजारको यो अवस्थामा भने प्रहरीको पनि नजर परेको छैन। के यो तरकारी बजार पनि निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्रै पर्दैन? यो अवस्थाबारे प्रशासन पनि जानकार छ।

‘दैनिक उपभोग्य वस्तुमा हामीले रोक लाउन मिल्दैन’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिएल नेपाली सेवासँग भने, ‘हामीले भनेजस्तो सामाजिक दूरीदेखि स्वास्थ्यको मापदण्ड पूरा गरिएको छैन।’

प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘कालीमाटी र बल्खुको होलसेल तरकारी बजारमा बिहान भीडभाड हुने गरेको छ । हामीले बजारका सम्बन्धित अधिकारी तथा व्यवसायीलाई सामाजिक दूरी कायम गरी सुरक्षित तवरले बिक्री–वितरण गर्न निर्देशन दिएका छौँ । त्यसको पालना नभएमा बन्द गरिन्छ।’

उता कालीमाटी तरकारी बजारका व्यवसायीलाई प्रमुख जिल्ला अधिकारीको भनाइले रत्ति पनि छोएको छैन। उनीहरुलाई अन्य बेलाको जस्तै तरकारी किनबेच गर्न भ्याइ–नभ्याई छ । उनीहरुलाई कोरोना संक्रमण फैलिएला भन्नेसम्म चिन्ता छैन।

तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा कालीमाटीमा भिडभाडको विकल्पै नभएको दाबी गर्छन्। ‘तरकारी किन्न आउनेहरू आउनैपर्‍यो, बेच्नेहरु जानै पर्‍यो, ढुवानी गर्नेहरु त्यहाँ नआई भएन। अनि कसरी भीडभाड हुँदैन भन्नू?’,  महासचिव खतिवडाले भने, ‘कि त सिल नै गर्नुपर्‍यो । बेच भनेर भनेर खोलिदिएपछि भीडभाड हुनु स्वाभाविक छ।’

तरकारी तथा फलफूल व्यवसायी महासंघले पनि प्रमुख जिल्ला अधिकारीले जस्तै ‘सर्तकता अपनाएर व्यापार गर्नू’ भनेको छ । उनले भने, ‘भनेका त छौँ, अझ पछिल्लो समय तरकारी बजारमा पनि केही संक्रमण देखा परिसकेको छ। अब झनै डर छ।’

हेर्नुहोस् भिडियो रिपोर्ट

प्रकाशित मिति: : 2020-08-28 17:20:00

प्रतिकृया दिनुहोस्