प्रहरीका दु:ख : चुहिने भवनमा बस्छन्, खोल्साको पानी पिउँछन्

झापा भद्रपुर–३ मेचीपारिस्थित प्रहरी चौकीमा दुईकोठे भवन र एउटा जीर्ण भान्साघर छ । १० जनाको दरबन्दी रहेको यो चौकीमा आठजना छन् । दुई कोठामध्ये एउटाबाट प्रशासनिक काम हुन्छ भने अर्कोमा ब्यारेक छ । प्रशासनिक कोठाकै एकापट्टि खाट राखेर चौकी इन्चार्ज सुत्छन् । बर्खामा भवनमा पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ । टिनले बारेको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । टिनले बारेको शौचालय बेलाबेलामा हावाले उडाइदिन्छ ।

गौरीगञ्ज–४ स्थित सीमा प्रहरी चौकी खजुरगाछीका प्रहरी एककोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । पुरानो भएको भान्साघरको टिन छियाछिया छ । पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्,’ गौरीगन्ज–४ का वडाध्यक्ष कुलप्रसाद गिरी भन्छन् । शौचालयको सेफ्टीट्यांकी भत्किएको छ । पानी पर्दा भरिएर शौचालय गइनसक्नु हुन्छ । त्यो पनि भान्साछेउमै छ । ट्युबेलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन्, प्रहरी ।

प्रकाशित मिति: : 2020-08-28 07:55:25

प्रतिकृया दिनुहोस्