महेश आचार्य
ब्याक्टेरियालाई नाश गर्ने वा यसको वृद्धिलाई रोक्ने औषधिलाई एन्टिबायोटिक भनिन्छ र एन्टिबायोटिकलाई हामीले ब्याक्टेरियाको संक्रमण रोक्न अथवा उपचार गर्न प्रयोग गर्छौं। एन्टिबायोटिकले हाम्रो जीवनमा ठूलो योगदान दिने गर्छ। क्यान्सरको उपचार गर्न पनि एन्टिबायोटिक प्रयोग गर्ने गरिन्छ । अंग प्रत्यारोपण, कार्डिएक सर्जरी तथा अरू सर्जरी गर्दा ब्याक्टेरियाको संक्रमण नहोस् भनेर पनि एन्टिबायोटिकको प्रयोग गरिन्छ ।
एन्टिबायोटिकको प्रयोगले मान्छेको औसत आयु २३ वर्षसम्म बढाएको छ । एन्टिबायोटिकले भाइरसजन्य संक्रमणलाई भने कुनै काम गर्दैन । सन् १९२८ मा अलेक्जेन्डर फ्लेमिङ्गले पहिलो एन्टिबायोटिक पेनिसिलिन आविस्कार गरेपछिको समयलाई हामीले एन्टिबायोटिकको युग भन्ने गर्छौं ।
तर एन्टिबायोटिकको निरन्तर प्रयोगले गर्दा ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गर्दै गएका छन् । अर्थात् ब्याक्टेरियाले आफूलाई मार्ने औषधि पचाउने भएका छन् । कतिपय वैज्ञानिकहरूले केही नयाँ कदम नचाल्ने हो भने पेनिसिलिन आविस्कार हुनुभन्दा अगाडिको अवस्थाका लागि तयार रहन समेत चेतावनी दिइसकेका छन् ।
पेनिसिलिन आविस्कार हुनुभन्दाअघि ब्याक्टेरियाको संक्रमणबाट मानिसलाई बचाउने एउटै शक्ति भनेको उसको रोग प्रतिरोध क्षमता बढाउनु थियो । जुन व्यक्तिको प्रतिरोेध क्षमता बलियो हुन्थ्यो, उसले रोगलाई जित्न सक्थ्यो भने रोग प्रतिरोध क्षमता कमजोर हुने मानिसहरू ब्याक्टेरियाको सामान्य संक्रमणका कारणले पनि मरिहाल्थे ।