सडक बनाउनासाथ भत्काउन आउँछ अर्को निकाय, राष्ट्रिय ढुकुटीमा हुने नोक्सानीको छैन लेखाजोखा

प्रधानमन्त्री केपी ओलीले ५ फागुन ०७६ मा काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत बनाउने परियोजना सुरु गराए । विद्युत् प्राधिकरणले १० दिनभित्रै कालोपत्रे गरिसक्ने सर्तमा सडक खनेर तार बिछ्यायो । तर, भत्काइएका सडक ६ महिना बितिसक्दा पनि कालोपत्रे भएका छ्रैनन् ।

पानीपोखरी–महाराजगन्ज सडक त्यसको एक उदाहरण हो । यो खण्डमा सडक र फुटपाथमा खाल्डो खनेर तार बिछ्याउने संरचना बनाइयो । तर, अझै तार बिछ्याइएको छैन, न त भत्काइएको सडक पुनः कालोपत्रे गरिएको छ । प्राधिकरणको ढिलासुस्तीले सडकमा खाल्डो बनेको छ । धुलो र हिलोको समस्या त छँदै छ, भत्काइएको दुई फुट सडकले अरू पाँच फुटमा क्षति पुगेको छ । फुटपाथमा बनाइएका संरचनाले हिँड्ने बाटो थुनिँदा पैदलयात्रु जोखिम मोलेर सडकबाटै हिँड्न बाध्य छन् ।

यस्तै दृश्य देखिन्छ, चाबहिल–चुच्चेपाटी सडकमा पनि । प्राधिकरणले फुटपाथमा राखेका संरचनाले पैदलयात्रुको बाटो छेकेका छन् । फुटपाथबाट अपांगता भएका र ज्येष्ठ नागरिकलाई आउजाउ गर्न कठिन छ । ह्विलचेयरमा गुड्न फुटपाथमा सम्भव छैन, सडकमै पुग्नुपर्छ । ‘एउटाले बनाउन पाएको हुँदैन, अर्कोले आएर भत्काउँछ, फेरि बनाउनलाई महिनौँ लगाउँछ, दुःख पाउने त सधैँ हामीले मात्र हो,’ स्थानीय राजु श्रेष्ठ भन्छन् ।

प्रकाशित मिति: : 2020-08-25 14:53:58

प्रतिकृया दिनुहोस्