कीर्तिमानधारी धावक उसेन बोल्टलाई पनि कोरोना संक्रमण

कीर्तिमानधारी धावक उसेन बोल्ट पनि कोरोनाबाट संक्रमित भएका छन्। जमैकाका ३४ वर्षीय तीब्र गतिका धावक बोल्टले २१ अगस्टमा आफ्नो जन्मदिन मनाएका थिए। 

उनले जन्मदिनमा घरमा मानिसहरू जम्मा गरेर भब्य पार्टी दिएका थिए। यसपछि उनको रिपोर्ट पोजिटिभ देखिएको हो। 

११ पल्ट विश्व च्याम्पियन रहेका बोल्टले सन् २०१७ मा लन्डनमा आयोजना भएको विश्व च्याम्पियनसिपपछि सन्यास लिएका थिए। अन्तिम खेलमा उनले रजत पदकमा चित्त बुझाउनु परेको थियो। 

उनको एउटा भिडियो हालै भाइरल भइरहेको छ। जसमा लेखिएको छ, उसेन बोल्टको जन्मदिनको पार्टीको भिडियो। भिडियोमा उनले सामाजिक दुरीको नियमलाई वास्ता नगरेको देखिन्छ। उनले मास्क पनि लगाएका छैनन्। 

उनको पार्टीमा म्यानचेस्टर युनाइटेडका रहिम स्टर्लिङ पनि समावेश थिए। रहिम पनि जमैकन हुन। 

बोल्टले भिडियो सार्वजनिक गर्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका थिए। उनले शनिबार कोरोना परीक्षण गराएका थिए। उनी हाल घरमै ‘आइसोलेसन’ मा छन्।

उनले आफूलाई गाह्रो नपरेको तरपनि साथीभाई भन्दा टाढा बसेको बताए। उनको अर्को रिपोर्ट आउन बाँकी छ। उनले अरुलाई सुरक्षित रहन अपील गरेका छन्। 

बोल्डले सय मिटर दौड ९ दशमलव ५८ तथा दुई सय मिटर दौड १९ दशमलव १९ सेकेन्डमा पुरा गरेर इतिहास रचेका थिए। 

उनी १० सेकेन्डभन्दा पनि तल दौड पुरा गर्ने पहिलो स्प्रिन्टर हुन्। उनले ओलम्किमा सय र दुई सय मिटर दौडमा लगातार तीन पल्ट स्वर्ण जित्दै अर्को इतिहास रचेका थिए। ओलम्पिकमा उनको नाममा ८ वटा स्वर्ण जित्ने इतिहास छ।

प्रकाशित मिति: : 2020-08-25 06:25:06

प्रतिकृया दिनुहोस्