सर्लाहीका श्याम परदेशीलाई बिर्साउने सिरहाका शिवजी यादवको ठगी धन्दा

काठमाडौं । विपन्न वर्गका युवालाई भारतको पञ्जाबमा रोजगारी लगाइदिने भन्दै ऋण दिएर पठाउने र चक्रीय ब्याज जोडेर वर्षौँसम्म उनीहरुको शोषण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा शिवजी यादवविरुद्ध उजुरी दर्ता गरिएको छ । सिरहाको औरही गाउँपालिका–५ निवासी शिवजी यादवले विभिन्न गाउँका मुसहर समुदायलाई चक्रीय ब्याजमा रकम दिने र रकम तिर्न नसक्नेलाई भारतको पञ्जाबमा लगेर काममा लगाउने तथा उनीहरुको पारिश्रमिक आफैले लिने गरेको खुलासा भएको छ । उनले ५/१० हजार रुपैयाँ ऋण लिएका मुसहर समुदायलाई लाखौँ रुपैयाँ ऋण बोकेको देखाएर वर्षौँसम्म काममा लगाउने र तै पनि ऋण चुक्ता नभएको भन्दै रित्तै हात घर फर्काउने गरेको पीडितहरुको भनाइ छ । त्यतिले पनि नपुगे उनले ऋणीको घरमा गएर गाईवस्तु खोलेर ल्याउने, घरखेत कब्जा गर्नेजस्ता ज्यादति गर्दै आएको पीडितहरु बताउँछन् । जनता समाजवादी पार्टीका औरही गाउँपालिका अध्यक्ष समेत रहेका यादवले भारतको पञ्जाबमा नेपाली विपन्न समुदायका युवालाई श्रमका लागि लैजाने काम गर्दछन् । पीडितका अनुसार दैनिक ज्यालादारी काम गरेर परिवारको जीविकोपार्जन गर्दै आएका युवालाई पञ्जाब लैजानु अघि त्यस्ता युवाको परिवारका लागि घरखर्चको जोहो गरिदिने क्रममा उनले ऋण लगानी गर्दछन् ।

प्रकाशित मिति: : 2020-08-24 21:25:10

प्रतिकृया दिनुहोस्