अबदेखि उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक खाद्यान्न तथा तरकारी पसलहरू बिहान ९:१५ बजेसम्म मात्र खोल्न पाइने भएको छ।

दिनभर पनि सर्वसाधारण नागरिक तरकारी र खाद्यान्न किन्न निस्किएको भन्दै घर बाहिर आउन थालेपछि तीनै जिल्ला प्रसाशनले यस्तो निर्णय गरेका हुन्।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

दाहालका अनुसार अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय भएको हो।

यस्तै औषधि, स्वास्थ्य सामग्री र पानी विक्री वितरण गर्ने पसल भने जुनसुकै समयमा निर्वाद रूपमा चलाउन सकिने भएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको बैठकले भदौ ३ गते साँझदेखि एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

अहिले काठमाडौंमा अत्यावश्यक सेवाबाहेक कुनै पनि गतिविधि गर्न निषेध छ। तर, बिहान ८ बजेसम्म तरकारी, खाद्यान्न पसल सञ्चालनमा छन्।

बिहान ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म सडकमा मानिसको भीडभाड देखिन्छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१६ जना कोरोना संंक्रमित थपिएका छन्। यससँगै आज मुलुकभर थप ६३४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन्।

निषेधाज्ञापछि कति थपिए?

निषेधाज्ञा जारी भएपछिको पाँच दिनमा उपत्यकाभित्र ९२३ जना संक्रमित थपिएका छन्।

काठमाडौं जिल्लामा मात्र ७३७ जना, भक्तपुरमा १०९ र ललितपुरमा ७८ जना कोरोना संक्रमति थपिएका हुन्।

काठमाडौं उपत्यकामा अहिलेसम्म तीन हजार २६२ जना संक्रमित भएका छन्।

तीमध्ये काठमाडौं जिल्लामा दुई हजार ५७९, ललितपुरमा ४११ र भक्तपुरमा २७२ जना संक्रमित भएका हुन्।

प्रकाशित मिति: : 2020-08-23 18:20:06

प्रतिकृया दिनुहोस्