सबै आवेदकले रिलायन्स लाइफको १० कित्ता शेयर पाउलान् ? आइतबारसम्ममा ५ लाख बढी आवेदन

रिलायन्स लाइफले निष्काशन गरिरहेको साधारण शेयरमा आम सर्वसाधारणको आकर्षण देखिएको छ ।

आइतबार साँझ ५ बजेसम्ममा इन्स्योरेन्सको २ करोड ७ लाख २६ हजार ५२० कित्ता शेयरका लागि आवेदन परेको छ। निष्काशन बन्द हुन १ दिन बाँकी रहँदासम्मको अवस्थामा केही आवेदकले मात्र २० कित्ता शेयर पाउने अवस्था देखिएको छ ।

इन्स्योरेन्सको शेयरमा आइतबार साँझसम्ममा ५ लाख ११ हजार ३७४ वटा आवेदन परेको छ। इन्स्योरेन्सले कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।

यो तथ्यांकका आधारमा कम्पनीको १० कित्ता शेयर ५ लाख ६७ हजार आवेदकले पाउने छन्। सोमबारसम्म पर्ने आवेदनका आधारमा इन्स्योरेन्सको २० कित्ता शेयर पाउने सम्भावना पनि टरेको हो। अब ५५ हजार ६२६ वटा मात्रै आवेदन थप भएको अवस्थामा सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने ५५ हजार ६२६ वटा भन्दा बढी आवेदन थप भएको अवस्थामा १० कित्ता शेयर पनि गोलाप्रथाबाट मात्र पाउने अवस्था बन्नेछ ।

बैंक वित्तीय संस्थामा कागजी माध्यमबाट परेका कतिपय आवेदन अझै प्रविष्ट भएको छैन। उक्त तथ्यांक समेत प्रविष्ट भए पछि इन्स्योरेन्सको शेयरका आवेदकको संख्या धेरै मात्रामा बढ्ने देखिन्छ ।

सोमबार ५ बजेसम्म इन्स्योरेन्सको शेयरमा आवेदन गर्न सकिन्छ ।

हाल रिलायन्सको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: : 2020-08-23 17:44:16

प्रतिकृया दिनुहोस्