(लघुकथा)
कौब्रु पहाडको मध्य भागमा भँगेराको एउटा गुँड थियो । भँगेरा जोडी आफ्ना दुईवटा बच्चालाई पालै पालो चारो खोज्दै खुवाउँदै रमाइला दिन बिताई रहेका थिए ।
एकदिनको कुरा, भँगेराले तल देखिने मानव गाउँ तिर चहार्ने विचार गरयो । मान्छे दयालु हुन्छन् भन्ने पनि सुनेको थियोे । यसैले उ केही 'नया पाइन्छ कि' सोचेर सोझै गाउँ तिर हानियो । भँगेरी फलफूलका मसिना गेडागुडी बटुलेर बचरालाई दिउँसोको खाजाको जोहो गर्न थाली ।
एउटा सम्भ्रान्त ब्राह्मणको घर आँगन । भँगेरो फत्र्याक फुत्रुक गर्दै तुलसाको मठ वरिपरि पुग्यो । त्यहाँ पोखिएका सकसकाउँदा चामलका दाना देखेर रमाइ रमाइ टिप्दै थियो । अचानक मौकाको फाइदा उठाई सिकुवामा उभिएको ब्राह्मण कुमारले एकैचोटि मट्यांग्राले ठोक्यो । भँगेरो कालो रगत बान्ता गर्दै पिर्लिक्क पल्ट्यो ।
चराको अन्तरात्मा चिच्यायो- 'हे प्राणीश्रेष्ठ मानव समुदायको सर्वश्रेष्ठ ब्राह्मण कुमार ! हजुरका हातबाट एउटा जाबो चरामाथि यस्तो जघन्य हमला हुन्छ भन्ने त सपनामा पनि सम्झेकै थिएन । हजुरका आश्रममा हजुरले फालेका चामलका दाना टिपेको अपराधमा पाएको यत्रो मृत्युदण्ड ! ! विधाताको कालचक्र त घुमी रहला नी ! ! जंगलको मंगल छोडेर मान्छेको गाउँ तिर आउनु नै मेरो जीवनको सबैभन्दा ठूलो भूल भएछ । मेरो पछि हजुरको पनि पालो न आउला र ? भन्न सकिन्न ।'