विजय मल्ल
‘तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन । तर भेट भयो । कहिले आयौ ? ए, हिजो मात्रै ? मौसम कस्तो थियो ? राम्रो । त्यसो भए हवाईजहाजमा कुनै गडबड, बम्पिङ त भएन ? विराटनगरबाट आउँदाखेरि पहाडैपहाड, डाँडैडाँडा पर्छ; बादलैबादल असारको महिना, वर्षा भयानक हुन्छ । तिमीलाई डर लागेन ? डर, केलाई त, हैन ? मृत्यु जो सधैं भइरहन्छ, जो अनिवार्य अवश्यम्भावी छ । त्योसँग फेरि केको डर ? फिलोसफी...? यो केको फिलोसफी, यो केको दर्शनशास्त्र ? बाँच्ने, जीवन बिताउने तरिका, पद्धतिलाई पो दर्शन भनिन्छ । मर्नलाई केको दर्शन ? नमरूँ भने पनि मरिन्छ, क्यारे । फेरि त्यसलाई केको दर्शन चाहियो ? वास्तवमा यो हो कि मार्नलाई दर्शन चाहिन्छ, चाहे त्यो जीवहिंसा होस्, चाहे भावको, चाहे आदर्शको, चाहे आफ्नो आमहत्या । कसो ?
यतिका वर्षपछि भेटेकोमा यो के अन्टसन्ट बकिरहेको हुँला ? तिमीलाई मन पर्छ ? मैले बक्तै, फलाक्तै गइरहेको तिमीलाई मन पर्छ ? ताज्जुब ! त्यसो भए म जे बकूँ, तिम्रो आलोचना या निन्दा गरूँ, के त्यो पनि मन पर्छ ? अहँ म पत्याउन्नँ । त्यस्तो सहनलाई बडेमानको छाती चाहिन्छ । सम्भव छ, त्यस्तो छाती तिम्रो होस् ! छ ? त्यसो भए बेस हो । म निन्दा गरूँ त ? निन्दा गरूँ ! भो निन्दा र प्रशंसा दुवै गर्दिनँ । दुवै गर्नलाई हक चाहिन्छ, निकटता र हार्दिक सम्बन्धबाट उत्पन्न भएको हक । त्यो मसँग कहाँ छ र ? हामी दुवै अहिले यति अपरिचित छौं, छोएर पनि चिन्दैनौं, यसरी अगाडि बसेर पनि बुझ्दैनौं । हामी एकले अर्कोलाई बुझ्नै सक्तैनौं । तिमी भन्लाऊ, हामीहरू केटाकेटीदेखि एकले दोस्रोलाई चिन्छौं नि, कति सँगै बस्यौँ, कति गफ चुट्यौँ, केके गरेनौँ । ठीक हो, त्यो सत्य हो । तर अहिले म त्यस बखतको जीवको प्रेत मात्र हुँ, तिमी त्यस बखतको जीवको प्रेतनी मात्र हौ । त्यसैले एकले दोस्रोलाई कसरी चिन्ने ? के भन्यौं, म तिमीलाई चिन्न चाहन्नँ, तिम्रो अरूसँग बिहे भइसकेर छोराछोरी पाइसकेको हुनाले फेरि अरूसँग पोइल गएकी म चिन्न चाहन्नँ, यो के दोष लगाएको तिमीले मलाई ? यी कारणहरू हुँदै होइनन् । यसमा सत्यता छैन । अहिले म यहाँ जे कुरा भन्न लागेको छु त्यो कुरा सुनेपछि तिमी झन् छक्क पछ्र्यौ, तिमीलाई चिन्न मैले कति कोसिस गरेको रहेछु, भेट्टाउन कतिको प्रयत्न गरेको रहेछु । तर कस्तो निराश ! तिमी पनि पहिलेकी रूपकी प्रेतनी मात्रै । यसैले त म तिमीलाई चिन्दिनँ ।