बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास, किटानी जाहेरी परे पनि समातिएनन् आरोपित

जनकपुरधामः महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि भएको बलात्कारको घटना लेनदेनमा मिलाउने प्रयास भएको छ। घटनाको एक महिना हुन लाग्दा पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन। पीडित परिवारले भने दुई जनाविरुद्ध किटानी जाहेरी नै दिएको छ।

घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले ढिलाइ गर्दा स्थानीय राजनीतिक दलका कार्यकर्ताको पहलमा घटना लेनदेनमा मिलाउने समेत प्रयास भइरहेको छ। पीडित परिवारलाई ६ लाख रुपैयाँ दिएर घटना मिलाउन भएको प्रयासबारे एक अडियो समेत बाहिरिएको छ।

साउन १० गते राति करिब ९ बजे महोत्तरीको रामगोपालपुर नगरपालिका कञ्चनपुरकी बोल्न नसक्ने ३५ वर्षीय महिला गाउँ नजिकै सामूहिक बलात्कारको सिकार भएकी थिइन्।

पीडित पक्षले महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षीय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाविरुद्ध किटानी जाहेरी दिएको छ। स्थानीय राजनारायण मण्डल घटनाकै प्रत्यक्षदर्शी भएको समेत बताइएको छ।

प्रत्यक्षदर्शी भनिएका मण्डलको दाबी छ, ‘उखु खेतमा महिला चिच्याएको सुनेर एक जना साइकलवाला हामीलाई भन्न आयो। पीडितका श्रीमानसँगै हामी केही घटनास्थलमा पुगेपछि उनीहरू भागे।’

प्रकाशित मिति: : 2020-08-21 23:16:09

प्रतिकृया दिनुहोस्