काठमाडौं । चैतको पहिलो सातातिरको समय । चीनको ऊहानमा देखिएको कोरोनाभाइरसको संक्रमण एसिया, मध्यपूर्व, युरोप, अमेरिका हुँदै विश्वभर फैलिसकेको थियो । त्यति बेलासम्म नेपाल भने सुरक्षित नै थियो । कोरोनाको संक्रमण एकजनामा पनि नदेखिएपछि नेपाल कोरोना प्रभावित मुलुकमध्येकै एकमात्र ‘ग्रिनजोन’ मा थियो । नेपाल सुरक्षित रहँदा नेपालीको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा भने महामारी फैलिँदै थियो । यसले गर्दा उद्योग कलकारखाना बन्द भएका थिए । कतिपयको रोजगारी पूर्ण रुपमा छुटेको थियो । कतिपयको तत्कालका लागि काम पाएका थिएनन् । काम छुट्नुको पीडा र नेपालमा देखेको सुरक्षाको कारण त्यो समयमा धेरैले नेपाल फर्किने टिकट काटे । त्योबेला नेपाल फर्किनका लागि सामान्य समयभन्दा निकै बढी टिकट लिएको बताइन्छ । तर, महामारी बढ्दै जाँदा एयरलाइन्स कम्पनीहरुले उडान स्थगितको घोषणा गर्न थाले । विभिन्न देशहरुले एयरलाइन्स सेवाको मन्दर्भमा नयाँ नयाँ नियम थप्दै गए । त्यही क्रममा चैत ९ गतेदेखि नेपालले पनि नियमित हवाई उडान स्थगित गर्दै नेपाल फर्कने सबै बाटो बन्द गरिदियो । त्यही निर्णयपछि सुरु भयो नेपालीहरु ठगिने क्रम । जहाजको टिकट लिएपछि जसरी पनि उड्न पाइन्छ भन्ने मानसिकतासहित टिकट लिएका नेपालीहरुको अर्बौं रुपैंया विदेशी विमान कम्पनीहरुको पोल्टामा फसेको छ । न त उनीहरुले उडान गर्न सक्छन्, न त पैसा फिर्ता दिन नै ।