कृष्णमुरारी भण्डारी
गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको पदमा यो लेखक बहाल भएको असोजको चौथो साता मध्यान्तर हुँदै छ अर्थात्, मेरो कार्यकालको आधा समय पूरा हुँदै छ । चारवर्षे कार्यकालको जिम्मेवारी पाएको मैले दुई वर्ष कसरी बिताएँ भन्दा पनि सेतो हात्तीको उपमा पाएका संस्थानहरूमध्ये एकको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा वित्तीय प्रगति कति भयो, भौतिक प्रगति के भयो ? व्यवस्थापनमा सुधार कत्तिको आयो ? गोरखापत्रका प्रकाशनहरूको मुहार कति बदलियो ? यी र यस्तै कुरा केही दिनदेखि मनमा खेलिरहेका थिए ।
तर, त्यसअघि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जननिर्वाचित सरकारको पाँचवर्षे कार्यकालको मध्यान्तर भयो । दुई दिनअघि भदौ ३ गते सरकारको कार्यकालको दुई वर्ष छ महिना पूरा भएकाले पहिला यसै विषयमा लेख्न मन लाग्यो । सरकारको मध्यान्तरसँगसँगै यो स्तम्भ ‘उल्टो–सुल्टो’ प्रारम्भ गरियो ।
लेखनलाई नै आफ्नो जीवन पद्धति बनाएको यो स्तम्भकारले निरन्तरको सार्वजनिक लेखाइलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि स्थगन गरेको थियो । तर, पछिल्लो समय मुलुक र विश्वमा विकसित भइरहेका कतिपय विषयमा मनमा उठेका अभिव्यक्ति प्रकाशन गर्न नपाउँदा मेरो लेखकीय आलोचनात्मक चेतले चुप लागेर बस्न दिएन । तथापि, गोरखापत्र संस्थान आफैँमा प्रकाशन गृह भएकाले धेरै विषय यसमार्फत उठाउन र सम्बोधन गर्न प्रयासरत रहेकै हो । तर, निजी विचार र आफूलाई लागेका कुरा निर्धक्क व्यक्त गर्ने लेखकीय जीवनशैली बनेको हुनाले उकुसमुकुस पर्याप्त रहिरह्यो । त्यसैले त्यसलाई ‘भ्यान्टिलेट’ गर्न आफ्नो जीवनका दुई पाटाहरू पदीय जिम्मेवारी र निजी ‘अब्जरभेसन’लाई बेग्ल्याएर प्रस्तुत गर्ने निर्णयमा पुगेको छु । तर, यो निर्णयमा पुग्दा पनि मेरो पहिचान बनेको ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ लेखकीय स्तम्भलाई निरन्तरता दिने कि पदीय जिम्मेवारीमा समेत रहेको अवस्थामा नयाँ सुरुवात गर्ने विकल्पमा पछिल्लोलाई अगाडि बढाउने पक्षमा पुगेको हँु । तर, यहाँ प्रकाशित विषयवस्तु र प्रस्तुति पदीय जिम्मेवारीका हिसाबले होइन, एक लेखक विश्लेषकको नितान्त निजी विचार अभिव्यक्ति हुनेछन् । मेरा निजी विचार र अभिव्यक्तिले संस्थाको गरिमा र पदीय जिम्मेवारीमा कुनै प्रभाव पार्ने छैन ।