प्रहरीमाथि शोषण : दैनिक १८ घन्टासम्म ड्युटी गर्ने प्रहरीलाई दुई वर्षमा एक जोर युनिफर्म

नवराज मैनाली/दीपेन्द्र ढुंगाना

 

वर्षमा ३५ हजार मात्र चुस्ता किन्न सरकारले बजेट दिन्छ, जब कि नेपाल प्रहरीमा ७९ हजार पाँच सय ४२ को जनशक्ति छ, त्यसैले एक वर्ष बिराएर मात्र प्रहरीले लुगा फेर्न पाउँछन् । अझ बुट तीन वर्षमा एकपटक र जाडोमा लगाउने ज्याकेट त चार वर्षमा एकपटक ।

दैनिक १८ घन्टासम्म ड्युटीमा खटिने प्रहरीले दुई वर्षमा एक जोर युनिफर्म र तीन वर्षमा एक जोर बुट पाउँछन् । अझ जाडोमा लगाउने मोजा त वर्षको एक जोर मात्रै पाउँछन् भन्दा अनौठो लाग्न सक्छ । तर, तीन करोड नेपालीको सुरक्षा गरिरहेका ८० हजार प्रहरीले वर्षौंदेखि पोसाकजस्तो आधारभूत सुविधाको पनि अभाव झेलिरहेका छन् । ड्युटीमा खटिँदा लगाउनुपर्ने पोसाक र बुटसमेत उनीहरूले आफ्नै तलबबाट किन्नुपर्ने बाध्यता छ । 

प्रहरी नियमावलीअनुसार एक वर्षमा प्रहरीले एक जोर चुस्ता र कार्यालयमा बस्दा लगाउने सर्ट–पाइन्ट दुई जोर पाउँछन् । तर, प्रहरीकै अध्ययनले नियमावलीको व्यवस्थाअनुसार सुविधा नपाएको देखाएको छ । सरकारले थोरै बजेट दिने र प्रहरीले त्यही पनि समयमा खरिद नगर्ने हुँदा समस्या बढेको अध्ययनको निष्कर्ष छ ।

पोसाकलगायत स्केलका सामानको समस्याबारे बुझ्न प्रहरी प्रधान कार्यालयले एसएसपी पुरुषोत्तम कँडेलको नेतृत्वमा हालै गरेको आन्तरिक अध्ययनअनुसार धेरै प्रहरीले दुई वर्षमा पनि चुस्ता पाउँदैनन् । सरकारले एक वर्षमा ३५ हजार चुस्ता खरिद लागि मात्र बजेट दिने गरेको छ, जब कि प्रहरीको जनशक्ति ७९ हजार पाँच सय ४२ छ । त्यही पनि समयमै खरिद नहुने भएकाले कतिपय प्रहरीले तीन वर्षमा एक जोर चुस्ता पाउने अवस्था रहेको अध्ययनले देखाएको छ । फिल्डमा खटिने प्रहरीले चुस्ता लगाउँछन् । घाम, पानी र धुलोका कारण एउटा चुस्ताले ६ महिना मात्रै पुग्ने प्रहरीको गुनासो छ । त्यसपछि आफैँले किन्नुपर्ने एक प्रहरीले बताए । 

त्यस्तै, कार्यालयमा बस्दा वर्किङ ड्रेसका रूपमा लगाउने टेरिकटनको सर्ट–पाइन्ट पनि मुस्किलले एक जोर पाउने गरेका छन् । कपडा खरिदमा हुने चलखेलका कारण युनिफर्म गुणस्तरीय आउँदैन । प्रहरीको पोसाक थोत्रो र खुइलिएको देखिनुको कारण अध्ययनमा यसैलाई औँल्याइएको छ । 

प्रकाशित मिति: : 2020-08-20 06:53:43

प्रतिकृया दिनुहोस्