ललितपुरकी १५ वर्षीया एक किशोरी फुर्सदमा ज्यामी काम गर्थिन्। त्यसरी नै उनी गोजी खर्च जुटाउँथिन्। अरूबेला चाहिँ स्कुल जान्थिन्।
दुई महीना अघिको कुरा हो। ज्यामी काम गर्न जाँदा आफूभन्दा ७ वर्ष जेठो एक युवकसँग उनको भेट भयो। अनि, चिनजान भयो।
उदयपुर त्रियुगा नगरपालिकास्थित गाईघाटका युवा लीलबहादुर मगरसँगको चिनाजान त्यतिमै अड्किएन। दैनिक हुने भेटले घनिष्टता बढ्दै गयो। सहकर्मी युवकसँगको चिनाजानी प्रेममा परिणत हुन धेरै समय लागेन।
पहिलो-पटक भेटेको डेढ महिना नपुग्दै उनी लीलबहादुरसँग यति मोहित भइसकेकी थिइन् कि थप केही नबुझी आफूलाई सम्पूर्ण रूपमा ती युवकप्रति समर्पित गर्न तयार भइन्।
लीलबहादुरसँगै विवाह गरेर जीवन बिताउने सपना देख्न थालिन्। आफैंले मन पराएको मानिससँग विवाह गर्न पाए पूरा जिन्दगी हाँसीखुसी बित्ने विश्वास गर्नु उनको किशोर मनको दोष पनि त थिएन।
दुईबीचको प्रेम झांगिँदै गयो। दाम्पत्य जीवनको शुरूआत गर्ने योजनालाई मूर्तरूप दिनका लागि उनीहरूले सँगै बस्ने (लिभिङ टुगेदर)को निर्णय लिए।