भैरव रिसाल
१९९३ सालमा १७ वर्षे पट्ठो थिए आजका राष्ट्रकवि माधवप्रसाद घिमिरे । त्यसै वर्षको जेठ महीनामा उनी लमजुङको पुस्तुन बाहुनडाँडास्थित घरबाट भागेर नेपाल खाल्डो, काठमाडौं हिंडेछन् ।
हिंड्नुअघि घरको सन्दुसबाट सुटुक्क सात मोहोर निकालेर खुदीबेनीका पसले कालीप्रसाद श्रेष्ठ (हाकुचा) को साथ लागेछन् । खुदीबेनी घिमिरेजीको ससुराली गाउँ थियो, जहाँ उनी भाषा पाठशालामा बद्रीनाथ सुवेदीसँग पढ्थे । त्यतिबेला उनको विवाह भइसकेको थियो ।
घिमिरेजी काठमाडौं आउनुमा विद्वान् गुरुहरूसँग पढ्ने उद्देश्य थियो । बाबुआमाको एक्लो छोरो घरमा ‘नेपाल’ जान लागेको बताए पीर गर्लान् र रोक्लान् भनेर खुसुक्क हिंडेका थिए ।
घिमिरेले संस्कृत माध्यमिक विद्यालय, रानीपोखरीको वार्षिक मुखपत्र, २०६७ मा श्रीमती (गौरी) को गरगहनाको प्रसंग जोड्दै घरबाट भागेको स्मृति लेखेका छन्, “एक दिन दिउँसो तलामा सुटुक्क उक्लिएँ सन्दुसको साँचो बोकेर । सन्दुस खोलें । सात मोहोर नगद, श्रीमतीका श्रीफूल र कल्ली त्यहीं रहेछन् । ती चीजको अघोर माया लाग्यो । श्रीफूल र कल्ली त्यहीं छोडेर सात मोहोर झिकें ।”