करण जौहरको पद्मश्री खोस्न कंगनाको सरकारलाई अपील

अभिनेत्री कंगना रनोटले निर्माता–निर्देशक करण जौहरको पद्मश्री अवार्ड फिर्ता लिनुपर्ने माग भारत सरकारसँग गरेकी छिन्। 

उनले उरी घटनालाई लिएर भारतीय सेनालाई बदनाम गर्न खोजेको भन्दै करणको अवार्ड खोस्न आग्रह गरेकी हुन्। करणले हालै निर्माण गरेको फिल्म ‘गुञ्जन सक्सेनाः द कार्गिल गर्ल’ रिलिज गरेका थिए। यसमा अनावश्यक कुरा देखाएर वायुसेनालाई बदनाम गर्न खोजेको आरोप भारतीय वायुसेनाले लगाएको छ। 

कंगनाले यसअघि आफूलाई बलिउडबाट बाहिरिन करण जौहरले धम्की दिएको आरोप लगाएकी थिइन। दिंवगत अभिनेता सुशान्त सिंह राजपूतलाई बलिउडबाट एक्ल्याउन करण जौहरले भूमिका खेलेको आरोप कंगनाले लगाउँदै आएकी छिन्।

यसैबिच भारतीय वायुसेना (आईएएफ)ले भारतीय सेन्सर बोर्डलाई ‘गुन्जन सक्सेनाः द कारगिल गर्ल’ मा नकरात्मक प्रस्तुति गरिएको भन्दै पत्राचार गरेको छ। इन्डिया टिभी न्युजका अनुसार उक्त चलचित्रले वायुसेनामा देखाइएको ‘लैङ्गिक असमानता अनावश्यक र अतिरञ्जित’ भएकाले पत्रचार गरिएको हो।

चलचित्रमा भारतीय वायुसेनाको संस्थागत कार्यशैलीलाई नकरात्मक र अनावश्यक रूपमा अतिरञ्जित देखाइएको उनले बताएका छन्। यो सिनेमा सन् १९९९ कार्गिल युद्धमा खटिएकी पहिलो महिला पाइलट गुञ्जन सक्सेनाको जीवनमाथि आधारित रहेर बनेको छ। चलचित्रलाई करण जोहर ड्रामा प्रोडक्सनले निर्माण गरेको हो।

नाम नखुलाइएका उक्त सेनाका अधिकारीलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ,‘भारतीय वायुसेनाले केन्द्रीय प्रमाणिकरण  बोर्डलाई चलचित्रमा भएका कतिपय दृश्यले भारतीय वायुसेनाको संस्थागत शैलीलाई गलत देखाएको भन्दै पत्रचार गरेको हो।’ उनका अनुसार संस्थाले चलचित्र प्रसारण भएको माध्यम नेटफ्लिक्सलाई पनि सोही पत्र पठाएको छ।

ती अधिकारीका अनुसार चलचित्र प्रसारण हुनु अगाडि नै भारतीय वायुसेनाले अनावश्यक र अनिरञ्जित रहेका यी दृश्यहरू हटाउन भनिएको थियो। तर,चलचित्र प्रसारण ती दृश्यसहित भएकाले कानुनी कारवाहीतर्फ संस्था लागेको उनले बताए।

प्रकाशित मिति: : 2020-08-18 17:45:00

प्रतिकृया दिनुहोस्