पाँचखाल नगरपालिका–९ माडीगाउँस्थित पलाञ्चोक भगवती ब्रीक इन्ड्रष्टिज प्रालिको पोखरीमा डुबेर आज एक पुरुषको मृत्यु भएको छ । पोखरीमा डुबेका पाँचखाल–१२ का ५४ वर्षीय काजीमान दनुवारको शव चार घण्टापछि निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक राजेश अधिकारीले अपराह्न ४ बजे पोखरीबाट सुरक्षाकर्मी र स्थानीयवासीबाट पोखरीमा खोजी गरी दनुवारको शव भेटिएको बताए । दनुवार मध्याह्न करीब १२ बजे पोखरीमा डुबेको अनुमान गरिएको छ । एक्स्काभेटरको सहयोगले पोखरीको पानी पाँच फिट खोलेपछि दनुवारको शव भेट्टाइएको स्थानीयवासी तोरण दनुवारले जानकारी दिए ।
उनका अनुसार अन्य दुई साथीसँग घुम्दै हिँडेका बेला गर्मी भई डिल बसेर मुख धुने क्रममा दनुवार चिप्लिएर पोखरीमा डुबेका थिए । भक्तपुरका व्यवसायी र स्थानीयवासीको साझेदारीमा सञ्चालित उक्त उद्योगले वर्षौँदेखि चिनियाँ गुणस्तरको इँटा उत्पादन गर्दै आएको छ । उद्योगले पानीका लागि बनाएको उक्त पोखरीमा तारजालीले घेरिएको छैन । सडक नजीकै रहेको पोखरी करीब १५ फिट गहिरो रहेको पाँचखाल –१२ का वडा सदस्य राजेश मैनालीले बताए । उनका अनुसार उद्योगले आफ्नो पोखरीमा पर्खाल तथा तारजाली नलगाउँदा केही वर्षदेखि पोखरीमा डुबेर मृत्यु हुने घटना दोहोरिरहेका छन् ।
इँटा उद्योग व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष जीतेन्द्र खयामलीले उद्योगलाई आफ्नो पोखरीमा तारजाली वा पर्खाल बनाउन संस्थागत रुपमा पटकपटक आग्रह गर्दा अटेर गरेकाले दुर्घटना भइरहेको बताए । विसं २०७५ माघ पहिलो साता पाँचखालस्थित एक इँटा उद्योगको पोखरीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको थियो । त्यसको केही महिनाअघि स्थानीय एक इँटा उद्योगले खोलामा खनेको खाडलमा परी आठ वर्षको बालकको मृत्यु भएको थियो ।
यसअघि २०७६ मा ११ गते अपराह्न पनौती नपा–जाइडोलस्थित जोगेश्वरी इँटा उद्योगको शौचालय निर्माणार्थ बनाइएको पोखरीमा डुबेर २२ महिनाकी कृष्टिना तामाङको मृत्यु भएको थियो । उनी घरदेखि ३०० मिटर नजीकैको उद्योगमा छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको थियो ।