आन्तरिक कलहको उल्झनमा नेकपा र काँग्रेस

रातोपाटी

काठमाडौँ

सुदर्शन आचार्य

संघमा र ६ वटा प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति हो । नेकपा अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारको नेतृत्व गरेको झण्डै अढाइ वर्ष हुँदैछ । करिब दुई तिहाई बहुमतको सरकार नेतृत्व गरेर पनि अल्पमतको सरकारसरहको प्रतिफलसमेत जनतालाई दिन नसकेको भनेर ओलीको आलोचना हुने गरेको छ ।

यतिमात्र होइन, आफ्नै पार्टीभित्रबाट महिनौँदेखि उनको राजीनामा माग हुँदै आएको छ । पछिल्लो समय पार्टीभित्रका विवाद समाधान गर्नका लागि उनले तत्परता देखाएका छन् । प्रश्न उठ्न सक्छ– नेकपाभित्र विवाद नउठेको भए सरकार र नेकपाले अहिलेसम्म के–के गरिसकेका हुन्थे होलान् ? अर्थात्, सरकारका काम कारवाही र नेकपाप्रति जनतामा कस्तो छाप परेको हुन्थ्यो होला ?

त्यसो त, संसदीय समीकरणमा प्रमुख प्रतिपक्ष निकै कमजोर भएका कारण हुन सक्छ, सत्तारुढ दलभित्रको विवाद, शक्ति संघर्षले समेत सरकारको स्थायित्वमा संकट सिर्जना हुन सकेन । अन्यथा, सरकार र सत्तारुढ दलमा आन्तरिक विवाद देखा पर्नासाथ प्रमुख प्रतिपक्षले आफूलाई विकल्पका रुपमा अघि सार्दै सरकार परिवर्तनको खेल सुरु गरिसकेको हुन्थ्यो ।

प्रकाशित मिति: : 2020-08-17 12:05:13

प्रतिकृया दिनुहोस्