दामोदर पौडेल
अहिले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ भन्ने देखिएको छ । जबकि हल्ला गरेजस्तो भने छैन भन्ने तथ्यहरुले देखाउँछन् । नेपाल कम्युनिस्ट पार्टी बन्दा एमाले र माओवादी दुवै पक्षको सहमतिले दुईवटा अध्यक्ष भएका हुन् । यसले सामान्यतः पदको लालचालाई नै देखाउने गर्दछ तर सधैँ त्यस्तो हुँदैन ।
एमाले र माओवादी नमिलेमा तत्कालको लागि नेपाली कांग्रेस ठूलो पार्टी बन्न सक्ने सम्भावना थियो । एमाले दोस्रो र माओेवादी तेस्रो दल हुने अनुमान थियो । यस अवस्थामा एमालेलाई माओवादीलाई मिलाएर बहुमत ल्याउनु थियो र एमालेलाई आफ्ना उम्मेदवारहरुले माओवादी उम्मेदवारहरुले भन्दा बढ िसंख्यामा जित्ने पनि प्रस्ट थियो । त्यो तथ्य एकीकरणमा भएको भागवण्डाले पनि देखाउँछ ।
माओवादीलाई आफ्नो जनाधार कम हुँदै गएको र यही अवस्था रहेमा चुनावमा भाग लिने कम्युनिस्टहरुको मतको धु्रवीकरण एमालेको पक्षमा जाने प्रस्ट थियो । कम्युनिस्टहरुको प्रचलित शब्द आन्तरिक शत्रु र नजिकको मित्र भन्ने रेटोरिकले पनि कांग्रेसलाई हराउने र कम्युनिस्ट एक हुने भन्ने भनाइले मतदातालाई एक गराउन सजिलो हुने थियो । दुवै पक्षको आन्तरिक रणनीति सत्तामा पुगेपछि जनाधारमा आफू बलियो बन्ने र पार्टीमा आफ्नो वा आफ्नो समूहको बलियो हैसियत बनाउने नै थियो ।
यसै अवस्थामा अर्को सोच पनि विकास भयो कि पार्टी एउटै भएर चुनावमा भाग लिने, एक भइसकेपछि पुराना समूहबाट माथि उठेर वैचारिक एवं मानसिक एकतामा जाने । त्यसमा केहीमा पदको लोभ पनि होला । तर रामबहादुर थापा बादल, लेखराज भट्टजस्ता नेताले त्यो भनाइलाई प्रतिनिधित्व गरेजस्तो देखिन्छ । त्यो धार बलियो हुँदै जान सक्छ, त्यो धारले पूर्वएमाले धारलाई सहयोग पुग्ने हुन्छ ।