वीरगन्जमा बिहीबार बिहान करिब ३ बजे कोरोनाको लक्षण भएका एक जना बिरामीलाई कोभिड अस्पताल ल्याइयो। अक्सिजन लगाएरै अस्पताल ल्याइएका ६५ वर्षीय ती बिरामीलाई कहाँ राख्ने भनेर कर्मचारी अलमलमा परे।
कोभिड अस्पतालमा राख्ने ठाउँ थिएन। उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। ती बिरामीलाई सघन उपचार कक्ष (आइसियू) चाहिएको थियो। स्वास्थ्यकर्मीहरूलाई यसको राम्रै हेक्का पनि थियो। तर, त्यहाँ पनि आइसियू भरिभराउ थियो। केही सिप नचलेपछि बाराका ती बिरामीलाई आकस्मिक कक्षमै राखियो।
त्यहीँ उनले आफ्नो अन्तिम सास फेरे।
यसअघि बुधबार राति यस्तै अवस्थामा अस्पताल ल्याइएका ६० वर्षीय पुरुषले बल्लतल्ल भेन्टिलेटर पाएका थिए। बिहीबार बिहान उनको पनि निधन भएको छ।
उनीहरू दुवैलाई कोरोना लागेको-नलागेको पुष्टि भइसकेको छैन। मृत्यु हुनुअघि नै स्वाब लिइएपनि रिपोर्ट नआएको अस्पतालले जनाएको छ।
यी दुई घटनाले पछिल्लो समय कोरोना संक्रमणको 'हटस्पट' बनेको वीरगन्जको वेदना झल्काउँछ। वीरगन्जस्थित गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय सिंह बिरामी राख्ने ठाउँ नभएर उपचारमा समस्या आएको बताउँछन्।
‘क्षमताभन्दा बढी बिरामी राखेर उपचार गराइरहेका छौं। बरण्डा, प्यासेज कहीँ खाली ठाउँ बाँकी छैन,’ उनले सेतोपाटीसँग भने, 'उपचार गर्ने ठाउँ नहुँदा कतिपय बिरामी घन्टौंसम्म अस्पतालअगाडि गाडीमै बस्न बाध्यता छन्।'
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय पनि कोरोना संक्रमितहरू बढेसँगै एकैपटक धेरै जटिल बिरामी अस्पताल आइपुग्ने र सेवा दिन नसक्ने अवस्था बनेको बताउँछन्।
कोरोना महामारीपछि नारायणी अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन मिलाउने र वीरगन्ज महानगरपालिकाले आर्थिक पाटो हेर्ने गरी करिब चार किलोमिटर परको गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पतालमा रूपान्तरण गरिएको छ। सँगै रहेको वीरगन्ज हेल्थ केयर कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइएको छ।
गण्डकको क्षमता १०० शैया र वीरगन्ज हेल्थ केयरको ५० शैया गरी जम्मा १५० जना कोरोना बिरामीको उपचार गर्न सक्ने क्षमता छ। तर, अहिले नै यी दुई अस्थायी अस्पतालमा १७३ जना बिरामी उपचाररत छन्।
महानगरका केही होटल, धर्मशाला र विद्यालयहरूलाई आइसोलेसन बनाइएको छ, जहाँ अहिल्यै करिब ४०० कोरोना संक्रमित छन्।