जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित सम्पर्कविहीन

दुई दिनभित्र विवरण सार्वजनिक गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका जगदम्बा स्टिल प्रालिमा कार्यरत ६ जना कोरोना भाइरस संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न आदेश दिएको छ।

प्रशासनका अनुसार उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा  ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जसमध्ये ६ जना संक्रमित सम्पर्कविहीन छन् ।

‘सम्पर्कविहीन रहेकाले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेपछि दुई दिनभित्र उनीहरुको विवरणसार्वजनिक गर्न भनेका छौं,’ बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने।

अहिले उद्योगभित्रको अन्य व्यक्तिको आउजाउ बन्द गर्न सिल गरिएको उनले बताए।

‘अहिले उद्योग सिल गरिएको छ। भित्र भएका मानिसका लागि आवश्यक राशन पानीको प्रबन्ध गर्न एउटा प्रवेशद्वार प्रयोग गर्न भनेका छौं ,’ प्रजिअ पण्डितले भने ।

उद्योगकोतर्फबाट संक्रमित व्यक्तिहरुलाई राख्न उद्योग परिसर बाहिर छुट्टै आइसोलेसन सेन्टरको व्यवस्था गराउनुपर्ने, संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था उद्योगले मिलाउनुपर्ने, सम्पर्कविहीन भएका संक्रमितहरुको वतन, सम्पर्क नम्बर पत्ता लगाएर प्रशासन, स्वास्थ्य संस्थासँग सम्पर्कमा ल्याउने र उनीहरुलाई आइसोलेसनमा राख्नुपर्ने आदेश प्रशासनले दिएको छ ।

सामान र कामदार ओसारपरास नगर्न निर्देशन

प्रशासनले निषेधाज्ञा अवधिभर भारतबाट सुख्खा बन्दरगाह, आईसीपी वा वीरगञ्ज भन्सार हुँदै ढुवानी हुने आउने कच्चा सामाग्रीहरुको सवारी साधनलाई प्रवेश गर्न नदिने र उद्योगभित्र तयारी अवस्थामा रहेका सामाग्रीहरुको निकासी गर्नमा समेत रोक लगाएको छ ।

प्रशासनले श्रमिक कामदारको रुपमा कुनैपनि जनशक्ति नल्याउन पनि आग्रह गरेको छ। नेपाल सरकार मन्त्री परिषद्को साउन २६ गतेको निर्णयले कुनैपनि उद्योगमा भारतीय कामदारहरुलाई प्रवेश गर्न नदिइने  जनाएको छ।

साउन १४ गते प्रकाशित सूचना अनुसार केही उद्योगभित्र कार्यरत श्रमिक, कामदार, कर्मचारीको विवरण प्राप्त नभएकोले तीन दिनभित्र पेश गर्न पनि प्रशासनले भनेको छ ।

प्रकाशित मिति: : 2020-08-13 21:05:12

प्रतिकृया दिनुहोस्