अर्बौं औद्योगिक लगानी जोखिममा

करिडोरमा कोरोनाको असर

उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरु कोरोनाले उत्पन्न असहज परिस्थितिबाट प्रभावित भएका छन्। अर्बौं लगानी जोखिममा परेको भन्दै उद्योगीहरु चिन्तित छन्। केही उद्योगका कामदारमा कोरोना संक्रमण भेटिएपछि त्रास पनि फैलिएको छ।  

लकडाउन हटेसँगै करिडोरका उद्योग सामान्य लयमा फर्किने कोसिस गरिरहेका बेला पुनः वीरगन्ज क्षेत्र संक्रमणको उच्च जोखिममा पुग्यो । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा गत साउन १० गतेदेखि र समग्र जिल्लामा साउन १९ देखि कफ्र्यू लगाइएको छ। यसैबीच, बारामा पनि औद्योगिक करिडोरसमेत विभिन्न क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। तंग्रिने सुरसार गरेका उद्योग एकपटक पुनः समस्यामा फसेका छन्।  

उद्योगहरुमा कामदारको तलब भार, बैंकको ब्याज, उत्पादन नहुँदा पुँजी थन्किनु, बजारमा गइसकेको उत्पादनको रकम संकलन लगायत अनेक समस्या आइपरेको नेपाल उद्योग वाणिज्य संघका कार्यकारी सदस्य गणेशप्रसाद लाठले बताए।

‘स्टक’ अड्कियो
‘मेरो पनि लगानी रहेको एउटा टेक्सटाइल उद्योग छ, त्यसको कुरा गरौं लकडाउन सुरु हुँदा केही दिन रहने अनुमान थियो। आफूसँग काम गर्ने मानिस र कच्चा पदार्थ छँदै थियो। उत्पादन गर्नै पर्ने भयो, अहिले उत्पादित कपडा गोदाममा छ। बजार जान पाएको छैन,’ लाठले भने, ‘यता बैंकले ब्याज लिने नै भयो। उद्योगका हामी चारजना लगानीकर्ताले पैसाको जुटाएर बैंकको दुई करोड भर्खर मात्र तिरेका छौं। तर यसरी घरबाट पटकपटक तिर्न सम्भव हुँदैन।’  

कामदारलाई पनि बसीबसी तलब दिनुपरेको र उद्योग बन्द रहेको उनले बताए। सानो आकारको उद्योग भएको आफूहरुलाई परेको प्रभाव ठूला उद्योगको तुलनामा कमै भएको उनले बताए।  

औषधी उद्योगहरुमा पनि उत्पादन ‘स्टक’मै अड्किएको उद्योगी बताउँछन्। सबै अस्पताल र क्लिनिक प्रभावित भएपछि बजारबाट औषधीको माग घटेको उनीहरुको भनाइ छ। उत्पादन मिति हालेर निश्चित समयभित्र खपत गर्नुपर्ने उत्पादनमा औषधी पर्ने गरेकोले गोदाममा थन्किएका औषधी नोक्सान हुने सम्भावनाले उत्पादकहरुलाई सताएको छ। त्यस्तै, जुस, प्याकेजिङ भएका तयारी खानेकुरा र निश्चित समयभित्र खपत गरिहाल्नुपर्ने अन्य उपभोग्य सामग्री तयारी भएर ‘स्टक’ राखेको अवस्थामा धेरै उद्योग छन्। कपडा, खाद्यान्न, औषधी र प्याकेजिङ उद्योग अहिले यसप्रकारको समस्यामा छन्।

प्रकाशित मिति: : 2020-08-13 10:32:43

प्रतिकृया दिनुहोस्