बाँकेमा निषेधाज्ञा थप ३ दिन बढाइयाे

बाँकेमा निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ।  मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले   शनिबार रातिदेखि जारी गरिएकाे निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेकाे हाे।

मंगलबार बसेको बैठकमा निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए।

‘सिल गरिएको एरिया सबै खुला गर्छौ,’ उनले भने, ‘अत्यावश्यक काम खाद्यान्नका ढुवानीबाहेक सबै बन्द रहनेछन्।’

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लगाएको थियो। जारी निषेधज्ञा मंगलबार राति १२ बजे सकिँदैछ। थपिएको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि लागु रहने छ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द रहने प्रशासनले जनाएको छ।

बाँकेमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ। २४९ उपचारका लागि आइसोलेसनमा छन् भने ४०५जना निको भएर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-11 19:55:06

प्रतिकृया दिनुहोस्