काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा हत्यापछि सुटकेशमा फालिएको शवको अनुसन्धानमा प्रहरीले तीव्रता दिएको छ।
अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरूषको आज (आईतवार) विहान विभत्स अवस्थामा टाउको र खुट्टा बिनाको शव भेटिएको फेला परेको हो।
शव भेटिएपछि प्रहरी तालिम प्राप्त कुकुर समेत परिचान गरिएको थियो। कुकुरले शव सुँघेपछि करीव तीन सय मिटर पर पुगेको थियो। त्यहाँ पुगेर हेर्दा अर्को शंकास्पद झोला फेला पर्यो। झोलामा काँटिएको टाउको र खुट्टा थियो।
‘आधा शरीर सुडकेसमा भेटियो, खुट्टा र टाउको अर्को झोलामा भेटियो’, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने, ‘तालिम प्राप्त कुकुरले टाउको र झोला भेटायो।’
टाउको र खुट्टा शव भएको ठाउँभन्दा ३०० मिटर टाढा भेटिएको ज्ञवालीले बिएल नेपाली सेवालाई जानकारी दिए।
टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।
गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि रगत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ । घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरी शव पहिचानको नजिक पुगेको ज्ञवालीले जानकारी दिए।