पर्साकी १८ वर्षीया किशोरीको कोरोना संक्रमणबाट मृत्यु

पर्साकी एक १८ वर्षीया किशोरीको कोरोना संक्रमणको कारण मृत्यु भएको भएको छ। 

पोखरीया नगरपालिका ९ जगतपुर निवासी ती किशाेरीले सोमबार राति घरमा लगातार बान्ता गर्न लागेपछि उपचारकालागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज ल्याउने क्रममा बिचबाटोमै मृत्यु भएको हाे।

मृत्युपछि मंगलबार किशोरीको स्वाब संकलन गरेर नारायणी अस्पताल वीरगञ्ज पठाइएकाे थियाे। उनकाे स्वाब पीसीआर परीक्षण गर्दा साँझ रिपोर्ट पोजेटिभ आएको थियाे।  

काेशाेरीकाे मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिए।

किशोरीको मृत्युसँगै साउन यता वीरगञ्जमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

थप एक जनाको शंकास्पद मृत्यु

वीरगञ्जमा एक वृद्धको शंकास्पद मृत्यु भएको छ। वीरगञ्ज १० आदर्शनगर घडिअर्वा क्षेत्रका ६० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी मनोजित कुवँरका अनुसार मंगलवार साँझ ७ बजे नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे।

‘शुरुमा घरमै मृत्यु भएको हल्ला भयोपछि एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएकाे थियाे। तर उपचारको क्रममा मृत्यु भएको थाहा भयो,’उनले भने,‘उनको मृत्यु कोरोना संक्रमणबाट भएको छ की अन्य कुनै रोगबाट आज आउने पीसीआर रिपोर्टले टुगो लगाउने छ।’

वृद्धका परिवारजनका अनुसार उनी पुरानाे दम रोगी थिए। घरमा श्वासप्रश्वासमा अचानक समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।

उनको शव हाल नेशनल मेडिकल कलेजमै राखिएको प्रहरीले जनाएको छ। वृद्धको पीसीआर रिपोर्ट बुधवार रातिसम्म आउने नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-05 12:14:37

प्रतिकृया दिनुहोस्